‘विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ’

File Photo
File Photo

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन्।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए।

‘प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ’, परराष्ट्रमन्त्रीले भने।

उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए। उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पुर्याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।

नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए।

प्रकाशित मिति: : 2023-12-23 16:03:00

प्रतिकृया दिनुहोस्