जन्माएका आठ सन्तानमध्ये तीन बाँचे, पाँच मरे

बाटती चौतारो,
पानीको धारो,
हुँइमुनि बरैको रुख,
शिर र सुन्दर लोगैले(संसार)देख्छ,
को देख्छ मनैको दु:ख?

सुन्दा अनुप्रास नमिलेको जस्तो तर मनभरिका बेदना पोखिएको गद्य कविताजस्तो लाग्ने माथिको अंश चुट्किला हो। विवाह हुँदा, छोरो भएर रत्यौडी खेल्दा वा शुभकार्य गर्दा गाइने भाकाहरुमा चुट्किला पनि पर्छन्।

चुट्किला खासगरी पश्चिम नेपालको साविकको कर्णाली क्षेत्रका महिलाले गाउने गीत हो। विवाह, व्रतबन्ध, छोरो हुँदा र साइतमा गाउने चुट्किला फरक-फरक खालका हुन्छन्। अर्थात्, शुभकार्यको प्रकृतिअनुसारका चुट्किला हुन्छन्। चुट्किलामार्फत् महिलाहरु आफ्ना बेदना पनि पोख्छन्।

कडा मेहनत, घरधन्दाको गह्रौं जिम्मेवारी, निरन्तरको थकान, सामाजिक संरचनागत विभेदका कारण मनमा गुम्सिएर रहेका पीडाहरु विद्रोहमार्फत् ओकल्न नसक्ने भएपछि महिलाहरु विम्बको सहारा लिन्छन्। देख्ने, सुन्नेहरुलाई भावुक बनाउँछन्। अर्को कोणबाट हेर्दा महिलाहरुले गाउने विरहको भाकामा पनि विद्रोही चेत हुन्छ।

यो क्रम युगौंदेखि चलिआएको छ। पुस्तान्तरण हुँदै आएको चुट्किला सामाजिक संरचनाको तिखो प्रहारलाई निस्तेज पार्ने कलात्मक प्रतिरोधी हतियार हो। यही हतियारको सहारा लिँदै बायाँ गालामा बायाँ हात लगाएर बिरह गाइरहेकी छिन्, सिंजा गाउँपालिका- ४ पिँगीकी रेशा शाही।

ठकुरी परिवारमा हुर्केर ठकुरीसँगै बिहे गरेकी महिलाका दु:ख हुन्छन् होला र? कतिपयका यस्ता प्रश्न पनि हुन्छन्। तर, महिलाले सुनकै थालमा भोजन गरिरहेकी भएपनि समाज र सत्ता पितृसत्तात्मक छ भने दु:ख पीडाहरु कायमै छन् भनि बुझ्नुपर्छ। त्यसकारण हामीले गर्ने प्रश्नको ओझ निकै हल्का लाग्छ। लाग्छ, फिक्का प्रश्नहरुको कुनै ओझ हुँदैन।

उसो त घरभित्र घोडेनुन(सेतोनुन)सँग सुख्खा रोटी खाँदा पनि सुखैले बाँचेको देखाउने व्यवहारगत समस्या पनि समाजमा कायमै छ? तथापि, आफ्नै मनलाई ढाँट्न सक्ने त को जन्मेको छ र, यो दुनियाँमा? त्यसैले खुलेर दु:ख देखाउँदैछिन्, रेशा।

उनी जुम्लाका चर्चित नेता लालु शाहीकी जहान हुन्। समाजसेवामार्फत् राजनीतिक नेतृत्वको रुपमा स्थापित लालु शाहीले घरपरिवारलाई कहिले समय दिन पाएनन्। अन्तिम दमसम्म समाजसेवामै क्रियाशील उनको मृत्यु पनि आफ्नो घरमा भएन।

लामो समय सत्ता र शक्तिमा बसे पनि श्रीसम्मपत्ति जोड्ने मामलामा पिँगीका ठकुरीहरु पछाडि रहे। सिंजा उपत्यकाको किनाराकृत बस्तीका नागरिक बनेका पिँगीका ठकुरीहरु सम्पन्न छैनन्। त्यसमाथि व्यापार व्यवसायमा लाग्नै नपाउने लालु शाहीको दैनिकी सुख सयलमा बित्ने कुरै थिएन।

श्रीमान् घर छाेडेर निस्कने हुनाले रेशा घरमा एक्ली हुन्थिन्। उनका साथी भनेकै साथमा हुने केटाकेटी र पेटमा मन्द चल्ने बच्चा हुन्थे। तर, काखमा लाडप्यार गर्दागर्दैका बच्चा मर्दा उनी मरेतुल्य हुन्थिन्। यस्तो अवस्थामा संसारकै दु:खी आमा हुन पुग्छिन्, उनी।

‘उइबेला(त्यतिबेला) अस्पताल छियानन्। ओक्तोमुलो छियोन। छाछोरी बचाउनै धौ भयो,’ उनले भावकु हुँदै भनिन्, ‘आठपल्ट सुत्केरी भयाँ। तीन टटकी(केटाकेटी) मात्रै बाँचे। अरु सबै हेर्दा हेर्दै मरे।’

हाल उनका दुई छोरा, एक छोरी छन्। बाआमा हुँदाहुँदै सन्तान मर्नु जतिको पीडा केही नहुने रेशाको अनुभूती छ।

‘त्यही पीडा सहेर मुटुमै ढुंगा राखी बाँचेकी छु। यतिका वर्ष बचाइराख्ने दैव पनि हुनिको निष्ठुरी हैन,’ उनले दबिएको स्वरमा भावुक हुँदै भनिन्, ‘ओक्तोमुलो नपाएको हुनाले होला सद्दी (रुघाखोकी) लाग्दा पुनि टटकी मर्‍या। एक त १७ वर्ष भएकी छाेरी मरी। क्यान्सर लाग्याेछ। नेपालगन्ज लियाैँ। बाँचिन।’

श्रीमान् र बाँचेका तीन केटाकेटीको मुख हेरेर जिन्दगीको गोरेटोमा यात्रारथ रेशा १६ वर्ष यता सन्तानको मुख हेरि बाँचिरहेकी छिन्। श्रीमानले उनीसँगको यात्रामा बिट मारे। उनको समाजसेवा रोकियो। त्यसपछिको यात्रामा पछि लाग्ने छोराछोरी भएपनि बाटो उनी एक्लैले देखाइरहेकी छिन्।

त्यसैले गत सालसम्म उनले आफ्ना हात पाखुरा चलाइन्। असंख्य पीडारुपी काँडाहरुले घोच्दै घाइते भएको जिउमा बल सकियो। गत सालदेखि खेतीपाती गर्न नसक्ने भइन्। उनले भनिन्, ‘कैखो (कसैको) सर सहयोग मागुँ भने तरुनी बुहारी सुर्खेत राखी काम हामीलाई गराउँदी भनि वचन सुन्नु पर्छ।’

अहिले उनका दुवै छोराले सुर्खेतमा घर बनाएका छन्। बुहारीहरु आफ्ना छोराछोरी लिएर सुर्खेत बसिरहेका छन्। छोराहरु पिँगीमै छन्। रेशा हिउँद सुर्खेत जान्छिन्, वर्षा छोराहरुसँग बस्ने भनेर गाउँ फर्किन्छिन्। उनी गाउँ फर्केको बेला बिएल नेपाली सेवाले थोरै भलाकुसारी गरेको थियो।

भिडियाे :

प्रकाशित मिति: : 2023-12-28 16:35:00

प्रतिकृया दिनुहोस्