गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन सङ्घीय व्यवस्था वरदान साबित भएको बताएका छन्।
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडि परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताएका छन्।
'सङ्घीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुबा–आमा, हजुरबुबा–हजुरआमालाई सोध्नुहुन अनुरोध छ,' उनले भने, 'काठमाडौँ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा सङ्घीयता वरदान हो।'
गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उनले जानकारी दिएका छन्। हाल पाँचजना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका नौवटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर सङ्घीयताको विरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाइ थियो।
'यो व्यवस्थामा जनताले आफूलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिका रुपमा चुन्ने अधिकार छ। मन नपरे विरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,' उनले भने, 'हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउँदै गएको बिर्सनु भएन।'
मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताएका छन्। म्याग्दीको पूर्वाधारलगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गरे।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा नं ५ का अध्यक्ष भूपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गरेका छन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माविले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३० हजार र रु २० हजार पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए। छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उनले जानकारी दिएका छन्।