गाउँबासीलाई गुठीचौरकाे उपहार- बाबालाई नाना र आमालाई खाना

‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम मार्फत् सुरक्षित पालिका अभियान थालेको जुम्लाको गुठीचौर गाउँपालिकाले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ। हिउँदको चिसोदेखि जाँडरक्सीलगायतका विकृतीबाट नागरिकलाई जोगाउन सुरक्षित गुठीचौर अभियान सञ्चालन गरेको हो।

अभियानमार्फत् अबैध मदिरा नियन्त्रणदेखि चिसोमा राहत वितरणका कार्यक्रम अघि बढाएको छ। जसअन्तरर्गत पालिकाको सुरक्षित अभियानलाई आत्मसाथ गर्दै वृद्धवृद्धाको राहतका लागि गुठीचौर गाउँपालिका वडा नं. १ ले ‘बाबालाई नाना र आमालाई नानासहित खाना’ कार्यक्रम सञ्चालन गरेको छ।

६० वर्ष माथिका वडाभरिका सबै वृद्धवृद्धा, विपन्न, एकल महिला र अशक्तहरुलाई ‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम अन्तरर्गत विभिन्न राहत सामाग्री (बाक्लो न्यानो जकेट, हर्लिक्स, फलफूल) वितरण गरिएको छ।

सुरक्षित गाउँपालिका अभियानअन्तरर्गत रहेर गुठीचौर गाउँपालिका वडा नंं. १ का वृद्ध बाबा तथा आमालाई शनिबार न्यानो जकेट, हर्लिक्स वितरण गरिएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

‘बाबालाई नाना (जकेट) आमालाई नानासहित खाना (जकेट र हर्लिक्स) वितरण गरेका छौं,’ उनले भने, ‘जकेटले चिसोबाट जोगाउला, हर्लिक्स रोगसँग जुद्ने क्षामता बढाउँला भन्ने मनसायले बाबालाई नाना र आमालाई नानासहित खाना वितरण गरेका हौँ।’

सुरक्षित गुठीचौर अभियानसमेत सञ्चालन भइरहेकाले नागरिकको सुरक्षालाई पालिकाले जोड दिएको छ। वडाभित्रका महिला १ सय ८ जना र पुरुष ८२ जना गरी जम्मा १ सय ८७ जना वृद्धवृद्धा, एकल महिला, अशसक्तलाई जकेट, हर्लिक्स र फलफूल वितरण गरिएको वडाध्यक्ष महताराले जानकारी दिए।

उनकाअनुसार १ सय ८७ जनालाई कूल ४ लाख ८६ हजार ७ सय ५० रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो। स्थानीय वृद्ध कृष्णबहादुर बस्नेतले वडा पालिकाबाट जकेट, हर्लिक्स दिँदा साह्रै खुसी लागेको बताए। उनले भने, ‘सानो छँदा आमाको कोखमा न्यानो पाइन्थ्यो। अहिले वडा सरकारले न्यानो दिइरहेको छ।’

त्यस्तै स्थानीय वृद्ध चिरञ्जीवि अधिकारीले चिसो बढ्दै गएकोले बाक्लो जकेट, हर्लिक्स पाउँदा खुसी व्यक्त गरे। उनले भने, ‘चिसाले खानभन्दा बाक्लो लगाउनै पाए हुन्थ्यो भन्ने लाग्छ। हाम्रो मनसाय बुझेर वडाले दियो खुसी छौं।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीलगायतको सहभागिता थियो।

लक्षित वर्गको कार्यक्रम वितरणमुखी देखिए पनि ६० वर्ष माथिका वृद्धवृद्धालाई बचाउनु मुख्य कुरा भएको पालिका अध्यक्ष बुढाले बताए।

‘सुरक्षित गुठीचौर अभियान अन्तरर्गत नै हामीले नागरिकको सुरक्षाका लागि विभिन्ख कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘सोहीअनुरुप एक नम्बर वडाले सुरुदेखि रचनात्मक काम गर्दै आएको छ। नागरिकलाई कुनै पनि जोखिमबाट बचाउनु हाम्रो दायित्व हो। पुस माघको चिसोबाट जोगाउन जकेट वितरण गरेका छौँ। यसले वृद्धवृद्धा, अशसक्त राहत मिल्ने अपेक्षा छ।’

६० वर्षभन्दा मुनीका युवा, युवतीदेखि अन्य उमेरका नागरिकलाई उमेर सुहाँउदो रोजगारी तथा उत्पादनशील क्षेत्रमा जोड्न पालिकाले आवश्यक नीति र लगानी गर्ने उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले बताइन्।

प्रकाशित मिति: : 2023-12-31 21:29:00

प्रतिकृया दिनुहोस्