त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गर्न पुगेका प्रभु शाह नेतृत्वकाे आम जनता पार्टी (आजपा) का ७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन्।
‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने भन्दै बुधबार विभागमा घेराउ गर्न पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हाे। प्रहरीकाे धरपकडमा १ जना घाइते भएका छन्।
पक्राउ पर्नेमा आजपा उपाध्यक्ष तिलक थापा मगर, केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साह, आजपाका नेताहरु आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ रहेका छन्।
पक्राउ परेकामध्ये रञ्जु घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
पुरस्कारको नाममा भन्सारबाट उठेको रकमको ४५ प्रतिशत सिधै भ्रष्ट कर्मचारी एवं मन्त्रीको खातामा गइरहेकोले राजस्व उठाउने राज्यको लक्ष्यसमेत पूरा हुन नसकेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।
आजपानिकट आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्नेलगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ।
आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीले दिएका छन्। आजपाको आह्वानमा सुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दासमेत सरकारले कुनै सुनुवाइ नगरेकाे दुखेसाे पाेखेका छन्।