भारतले २० करोडको योजनामा आफूखुसी खर्च गर्न पाउँदैन, प्रक्रियामा रहेर खर्च हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्।

शुक्रबार बिहान प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशङ्करको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

‘भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन। खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ,’ उनले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो। तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन। खर्चको प्रक्रिया छ। भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने पनि होइन।’

प्रधानमन्त्रीले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौताकाे कल्पना समेत नगर्ने बताए। राष्ट्रिय हितअनुकुलका सम्झौता मात्रै सरकारले गर्ने उनकाे भनाइ छ।

‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो ‘वान टु वान’ र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो, भेटमा मैले नेपालको राष्ट्रियहित र विद्युत् व्यापार सम्झौताबारे नै कुरा गरेको छु, विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ, नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ’, प्रधानमन्त्रीले भने।

उनले जसले उत्पादन गरेको भए पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको र अरू कुनै भ्रम राख्न जरूरी नभएकाे बताए। 

प्रकाशित मिति: : 2024-01-05 10:50:00

प्रतिकृया दिनुहोस्