चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेको छ।
सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदान प्रदान गर्नेबारे छलफल भएको थियो।
चेचियाङ प्राप्तको प्रमुख सहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो।
त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै चीनले नेपाली खेलकुदको विकासमा लामो समयदेखि लगातार सहयोग गर्दै आएको बताए।
चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख चेङ याउले एसियाली खेलकुदमा नेपालको उत्साहबर्ढक सहभागिताका लागि धन्यवाद व्यक्त गरे।
सहभागितको आधारमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा आयोजना भएको हाङचाउ एसियाली खेलकुदलाई अहिलेसम्मकै सफल मानिएको छ। त्यस प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो।
याउ हाङचाउ एसियाली खेलकुद आयोजना कमिटीका उप–सचिव हुन्। यस्तै उनी चेचियाङ प्राप्तको खेलकुद ब्युरोका निर्देशक समेत हुन्।
उनले आफ्नो प्रान्त नेपालीको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताउँदै दुई पक्षबीच प्रतियोगिता र प्रशिक्षणका लागि खेलाडी आदान प्रदान गर्ने प्रस्ताव पनि राखे।
उनले आफूहरू नेपालमा ड्रायगन–बोट खेलको प्रवर्द्धन र विकास गर्न पनि तत्पर रहेको बताए। दक्षिण चीनमा यो खेल निकै लोकप्रिय रहेको र चीन अहिले यसको प्रचार प्रसारमा रहेको छ।
चिनियाँ प्रतिनिधि मण्डलमा चेचियाङ कलेज अफ स्पोर्टसका डिन मेङ ग्वालियाङ, चिनह्वा म्युनिसिपालिटी ब्युरो अफ स्पोर्टसका सचिव हे चिचुन, लिसुइ स्पोर्टस डेभलपमेन्ट सर्भिस सेन्टरका निर्देशक हाङ योङह्वा र चेचियाङ कलेज अफ स्पोर्टसका उप–निर्देशक टोङ युकोङ समावेश रहेको थियो। त्यस अवसरमा ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी पनि उपस्थित थिए।