मन्त्री किरातीद्वारा याक–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन

याक–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपालिका–११ आलोकनगरमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो।

कार्यालयको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालभरको याक-चौँरी व्यवसायीहरुको साझा थलो रहेको महासंघलाई पर्यटनको क्षेत्रबाट सहकार्य गर्दै सरकारबाट हरसम्भव सहयोग गरिने बताए।

‘कृषिको दृष्टिकोणले याक–चौरी हाम्रो किसानहरुको मौलिक परम्परागत पेशा हो’, उनले भने, ‘उच्च हिमाली भेगमा पालिने याक–चौँरी स्वभाविक रुपले प्रकृतिक रुपले जोडिएको छ।’

याक–चौँरी पालनलाई संस्कृति र पर्यटनसँग जोड्ने र उत्पादनलाई विश्व बजारसँग जोड्न सकियो भने यो पेशाको संरक्षणसहित नेपालको आर्थिक विकासमासमेत टेवा पुग्ने मन्त्री किरातीले बताए।

उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमसँग जुधिरहेका याक, नाक तथा चौँरी र सम्बन्धित कृषकका लागि महासंघले प्रमुख भूमिका खेल्ने पशुसेवा विभागका महानिर्देशक उमेश दहालले विश्वास व्यक्त गरे।

त्यस्तै इसिमोडका प्रतिनिधि डा. टाशी दोर्जीले याक हिमाली संस्कृतिको हिस्सा भएकाले पनि यसको पर्यावरणीय र पर्यटकीय महत्वकोबारे चर्चा गरे। यो पेशालाई एग्रो–टुरिजमसँग जोडेर त्यसलाई ब्रान्डिङ गरेर लैजानलाई इसिमोड सहकार्यको लागि तयार रहेको उनले बताए।

जलवायु परिवर्तनका कारण निम्तिएका जोखिम एवं कृषकको लगानी सुनिश्चित नहुनाले घटिरहेको याक तथा चौँरीको संख्या वृद्धि गर्न यस्ता कार्यक्रम फलदायी हुने समेत उनको भनाइ छ।

याक–चौँरी कृषक महासंघका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले संस्थाको उद्देश्य र भावी योजना संक्षिप्त रुपमा प्रकाश पारेका थिए।

नेपालभर २९ जिल्लामा याक तथा चौँरी पालन हुँदै आएको छ। यी क्षेत्रमा आवद्ध सम्पूर्ण पशुचरणमा आवद्ध देशैभरका कृषकलाई ऐक्यबद्दता गर्दै लाने र  संस्कृतिको पुस्तान्तरण गर्नसमेत महासंघ सशक्त ढंगले अगाडि बढ्ने उनले बताए।

गत असोजमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले काठमाडौँमा दुई दिने कार्यक्रम गरी महासंघको विधान २०८० जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको थियो।

याक–चौँरी संघको ११ जिल्लामा कार्यसमिति गठन भएपछि बुधबार काठमाडौँमा एक कार्यक्रममार्फत महासंघ गठन गरिएको हो।

प्रकाशित मिति: : 2024-01-06 15:50:00

प्रतिकृया दिनुहोस्