राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ।

निर्वाचन आयोगकाअनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।

निर्वाचन आयोगकाअनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूविरूद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।

यस्तो छ निर्वाचन कार्यक्रम

उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ।

यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ। यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ।

प्रकाशित मिति: : 2024-01-09 08:38:00

प्रतिकृया दिनुहोस्