रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता, नारायणगढ-बुटवल सडकको स्तरोन्नतिबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएकाे छ।

बिहीबार बिहान पार्टी कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत सोङ्बीच भेट भएकाे हाे।

भेटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको थियाे।

भेटघाटमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका विषयमा कुरा भएको रास्वपाले जनाएकाे छ।

साथै निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको जनाइएकाे छ। रास्वपाले थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएकाे उल्लेख गरेकाे छ।

साे क्रममा राजदूत सोङ्ले आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: : 2024-01-11 12:17:00

प्रतिकृया दिनुहोस्