बुटवलमा आधुनिक सडकका रूपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युत्को मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ।
यतिमात्र होइन सडकको मुख्य भागमा रहेका ठूलाठूला पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ।
नेपाल विद्युत् प्राधिकरणले मुख्य सडकको बीच भागमा रहेको समस्यालाई समाधान गर्न मुख्य प्रसारण लाइनमा चारखुट्टे विद्युतीय खम्बा हटाएर मोनोपोल (सिङ्गलपोल) राख्ने काम गरेको छ।
मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युत्को प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिडका प्रमुख सुरज गौतमले जानकारी दिएका छन्।
बुटवल ग्रिड प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक आकर्षक देखिने बताए। प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्नेगरी सम्पन्न गरिने उनले बताए।
अहिलेको प्रसारण लाइनको खम्बाले सडकको धेरै भाग ओगटेकाले देख्दा भद्दा र दुर्घटनाको जोखिम बढेकाले मोनोपोल राख्न लागिएको उनले बताए।। यो खम्बा राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका सूर्यप्रसाद पाण्डेकाअनुसार हाल रहेका चार वटा विद्युतीय खम्बा हटाउने काम सुरु भएको छ। प्राधिकरणका इञ्जिनियर पाण्डेका अनुसार मुख्य प्रसारण लाइनमा यो अभ्यास पहिलो पटक गर्न लागिएको हो।
काठमाडौँमा मोनोपोल राखिए पनि मुख्य प्रसारणमा नभई सहायक प्रसारण लाइनमा रहेको छ। अहिलेको खम्बाभन्दा उचाइमा पनि बढी हुने र सडक क्षेत्रमा कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उनको भनाइ छ।