चुकेनी आयोजनाको काम सुस्त, लगानीकर्ता भन्छन्- हाम्राे कराेडाैँकाे ऋण डुब्ने स्थिति भयाे

हिउँद हिउँचुली,
नेपालगञ्ज झिलिमिली,
जुम्ला बिजुली...।

झण्डै चार दशकअघि चलेको प्रस्तुत गीतको भाका हालसम्म पनि जुम्लीहरुको जिब्रोमा झुन्डिरहेको छ। समकालीन परिस्थितिलाई मध्यनजर गरी गाइएको गीतले हालको समयको समेत प्रतिनिधित्व गरिरहेको छ।

जुम्लीहरु व्यापारमा जोडिएदेखि नै भोट-मधेस गर्थे। पछि मधेस झर्ने जुम्लीहरुले नेपालगञ्ज बिजुलीले झिलिमिली भएको देखे।

दियालोको भरमा रात कटाएका उनीहरुलाई दिन र रात एकैनासे देखिने बिजुलीको भोक जाग्यो। पूरा हुने केही गरी थिएन। त्यसैले माथिको गीतमार्फत् माग गरियो- जुम्लामा बिजुली चाहियो।

तर, हालसम्म पनि जुम्लीले गतिलो बिजुली पाएका छैनन्। हिउँचुलीमा हिउँ परिरहन्छ, हिउँ पग्लेर बनेको पानी बगेर नेपालगञ्ज पुगिरहन्छ। तर, नेपालगञ्जको जस्तो बिजुली जुम्लीहरुले अहिलेसम्म पायाका नाई।

कोहलपुरदेखि जुम्लासम्म कच्ची धागोले चंगा उडाएजस्तो गरी तानिएको जम्मा ११ केभीको राष्ट्रिय प्रसारण लाइन छ। जुन ३२० किलोमिटर बढी दूरीमा पर्छ। जहाँ बेलाबेला तार चुडिँरहन्छ भने आएको बत्ती काम लाग्दो छैन। साना जलविद्युत् आयोजनाको घुघुतीस्थित पावर हाउसबाट निकालिएको बिजुली सँधै अपुग हुन्छ।

त्यसैले तलास भइरह्यो, कम्तीमा एक मेघावाट बिजुलीको। जसले जुम्लीका आवश्यकता पूरा गर्ने थियो। जुम्ला झिलिमिली हुने थियो। सोही आवश्यकतालाई मध्येनजर गर्दै झण्डै चार वर्ष अगाडि २०७६ जेठमा चुकेनी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको थियो।

जहाँबाट ९ सय ९८ किलाेवाट अर्थात् चानचुन एक मेघावाट क्षमताकाे जलविद्युत उत्पादन हुनेछ। उक्त जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएपछि जुम्ला झिलिमिली हुनेछ। तर सम्झौताको झण्डै चार वर्ष बित्न लाग्दासमेत विद्युत उत्पादन नहुँदा नैराश्यता बढ्दै गएको छ।

आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएपनि निर्माण कार्य सुरु भएको थियो। सम्झौताकाे मितिबाट १८ महिनामा सकिनुपर्ने आयाेजना चार वर्ष बित्न आँट्दा पनि नसकिएपछि जुम्लामा बिजुली बालेर झिलिमिली गर्ने धोको पूरा हुन अझै समय लाग्ने देखिन्छ।

‘हामीले अब दसैँमा, तिहारमा, पुषमा चुकेनी बल्छ, त्यसपछि बिजुली अभाव हुँदैन भनिह्याैँ,’ आयाेजनाकाे स्थलगत अनुगमन गर्न गएका पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले भने, ‘यहाँ आउँदा त प्रगति कछुवा गतिमा भएकाे देखियाे। अब वैशाखसम्म भन्ने कुरा आइरहेको छ। यहाँ आश गर्ने ठाउँ छ त?’

जुम्लामा बिजुलीकाे माग बढ्दाे छ। लामो दूरीमा तानिएकाे लाइनका कारण चुहावट धेरै छ। यही कारणले राष्ट्रिय प्रसारण लाइन भरपर्दो बन्न सकिरहेकाे छैन। बेलाबेला बत्ती निभिरहन्छ।

‘कम्तिमा आफ्नै उत्पादन भए सहज हुन्थ्यो। जुम्लाले चुकेनीबाट एकदम धेरै आश मानेको छ,’ अध्यक्ष बोहराले थपे, ‘आशा लागेकाे आयाेजनाकाे प्रगति निराशाजनक छ।’

ठेकेदार कम्पनीकाे ढिलासुस्तीका कारण आशातित प्रगति हुन सकेकाे छैन। अब ६/७ महिनामा बन्ला भन्न थालेबाट हालसम्म आयाेजनाकाे प्रगति उस्तै छ। स्थानीयहरु आक्राेशित बन्दै गइरहेका छन्।

ठेकेदार कम्पनीबाट बारम्बार पेलिनु परेकाे स्थानीय रुपा रावतले बताइन्। उनकाअनुसार ठेकेदारलाई छिटाे काम गराउन स्थानीय २५ जनाकाे समिति बनेकाे थियो। हरेक दिन पालाे गरेर उनीहरु हेर्न जाने गरेका थिए। तर ठेकेदारले उक्त समितिलाई पनि नटेरेको स्थिति छ।

‘हामी काम लगाएका लगायै छाैँ,’ उनले भनिन्, ‘ठेकेदार हामीलाई पेलिरहेका छन्। त्यसैले बिजुली बल्ने आश मर्दै गएकाे छ।’

ठेकेदार कम्पनीका कारण काम ढिला हुँदा पातारासी गाउँपालिकाकाे लगानी खेर गइरहेकाे गाउँलेको भनाई छ।

‘काम निकै ढिला भयाे। हामीले जनशक्ति थप्नु भनेर ठेकेदारलाई बारम्बार ताकेता लगाइरहेका छाैँ,’ स्थानीको सामूहिक स्वर छ, ‘जसरी भएपनि ठेकेदार पेलिरहेको अवस्था छ।’

कुल ४३ कराेडकाे आयाेजनामा ३० कराेड वैकल्पिक ऊर्जाकाे लगानी छ भने १३ कराेड पालिका र स्थानीय जनताको लगानी छ। जनताले चुकेनीखाेला सहकारी संस्थामार्फत् आफ्नाे घर जग्गाको लालपुर्जा धराैटी राखेर ६ कराेड बराबरको शेयर लगानी गरेका छन्।

‘बैंककाे ब्याज तिर्नु परिरहेकाे छ,’ अध्यक्ष पूर्णसिंह बाेहाेराले थपे, ‘ठेकेदार कम्पनीले जति गर्दा पनि टेरिरेहेकाे छैन।’

विद्युत आयाेजनामा चुकेनीखाेला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेकाे छ। सहकारी संस्थाका २५ जनाकाे घर जग्गाकाे लालपुर्जा बैंकमा धराैटी राखिएकाे पातारासी गाउँपालिका-१ का वडाध्यक्ष लालसिंह ऐडीले बताए।

उनले भने, ‘गाउँलेहरु ऋणमा ढुबिराखेको स्थिति छ। काम ढिलाे हुन लाग्याे। ढिलाे भएकाे कारण रातदिन तनाव भइरहेको छ।’

धेरै हदसम्म जुम्लाले भाेगिरहेकाे बिजुली अभावकाे समस्या समाधान गर्ने भनिएकाे चुकेनी जलविद्युत् आयाेजना निर्माणकाे गति ढिला हुँदै जाँदा समस्याहरु थपिँदै गएका छन्।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेरा आयाेजना चाँडाे सम्पन्न गराउन हर तरहकाे काेसिस गरिरहेका छन्। उनी कहिले ठेकेदारलाई ताकेता लगाउने काम गर्छन् भने कहिले जिल्लाबाट जिम्मेवार व्यक्तिलाई लिएर अनुगमन गराउँछन्।

जुम्लाकाे विद्युत् बाल्ने र हालका समस्याहरु समाधान हुने सम्भावना टाढिएका छन्। कारण अझै १० प्रतिशत काम हुन बाँकी छ। 

ठेकेदार कम्पनीका प्रतिनिधि श्रीराम परासरका अनुसार अबको काम इन्डियाबाट आउने प्राविधिकले गर्ने हुन्। उनले भने, ‘उनीहरु चाँडै आए काम चाँडै सकिनेछ।’

चुकेनी जलविद्युत आयाेजना निर्माणकाे ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएकाे थियाे। उसले स्थानीयस्तरमा मेघाहाइड्राे एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ।

मेघाका प्रबन्धक चन्द्र क्षेत्रीका अनुसार सुरुकाे दुई वर्ष काेभिडका कारण काम गर्न सक्ने वातावरण बनेन। त्यसपछि वर्षाले बाटो बिग्रनेलगायतका समस्याहरु भइरहे।

उनकाे बाेलीमा स्थानीयकाे भराेसा देखिँदैन। ठेकेदार कम्पनीकै कारण निर्माण कार्य ढिलाे भइरहेकाे पातारासी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष वीर रावतले बताए।

‘ठेकेदारले जति ढिला गरे, उति हामीलाई नाेक्सान छ। हामीले छ कराेड ऋण लिएका छाैँ,’ उनले भने, ‘अझै पनि ठेकेदारले काम गर्नलाई विश्वासको वातावरण बनिरहेको छैन।’

प्रकाशित मिति: : 2024-01-21 16:23:00

प्रतिकृया दिनुहोस्