हिउँ परेन, पिर पर्‍यो 

हिउँको बारे कर्णाली क्षेत्रमा प्रचलित एउटा भनाइ छ, 'पुषको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैत्रको हिउँ भागबिला।'

यो भनाइको अर्थसहित व्याख्या गरियो भने हिउँको महत्व कति छ भन्ने कुरा थाहा पाउन मद्दत मिल्छ।

पुषको हिउँलाई शिला भनिन्छ। शिला भनेको पत्थर हो। पुषमा परेको हिउँ पत्थर जस्तो हुन्छ। जमिनमा लामो समयसम्म जमेर बसिरहने हिउँ हिउँदे बाली जौ, गहुँका लागि असाध्यै लाभदायक हुने चन्दननाथ-१० का ७५ वर्षीया धनमल कामीले बताए।

माघको हिउँ बिला। बिला भनेको बिलाउनु हो। अर्थात् पग्लिनु। माघमा तुलनात्मक रुपमा तातो बढी लाग्ने हुनाले परेको हिउँ घाम लाग्ने बित्तिकै बिलाउँछ। त्यसैले माघको हिउँला बिला भन्ने गरिएको सिंजा कनकासुन्दारीका संस्कृति सम्बन्धका जानकार तुङ्गनाथ उपाध्यायले बताए।

फागुनमा पर्ने हिउँलाई टिलाफिला भनिन्छ। कारण फागुनमा पर्ने हिउँ उस्तो जम्दैन। जमिन तातिसक्ने हुनाले पर्दा नपर्दै बिउलाउन लाग्छ। अर्थात् परको हिउँ हुन्छ। जमिन छुने बित्तिकै बिलाउन थाल्छ।

चैतको हिउँला भागबिला भनिन्छ। भागबिला भनेको भाग लगाउने हो। हिउँ भाग लागाउने? भन्ने सुन्दा पनि पत्याउन नसकिने कुरा जस्तो लाग्न सक्छ। तर यो कुरा साँचो हो। चैतको हिउँ भाग लगाइन्छ।

हिमाली जिल्लामा चैतमा गर्मी हुन थाल्छ। चैतमा लगातार पानी परेर चिसिन थाल्यो भने हिउँ पर्न थाल्छ। घाम लाग्दा अत्यन्तै गर्मी हुन्छ। सितल ठाउँ वा खोल्सामा रहेको हिउँ पग्लिन पाएको हुँदैन। त्यही हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर साँध्ने अनि घाम लागेका बेला घरपीरवार तथा साथीभाइलाई भाग लगाएर खान थालियो भने त्यसलाई भागबिला भनिन्छ।

जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको छ।

चैत-वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला लेकको खोल्सामा गएर हिउँ ल्याउने र त्यही हिउँ पग्लेको पानीले नुहाउने चलन छ। जसले गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन सहयोग गर्छ र बिरामी हुनबाट जोगाउँछ।

यति महत्वका साथ हेरिएको हिउँ नपर्दा समुदायमा नैराश्यता छाउँदैछ। पहिला पहिला समयमै हिउँ पर्थ्याे। मंसिरदेखि पुषसम्म हिउँ परेको खण्डमा सुविकाल हुने बुढापाकाहरुले भनाई छ।

पुष १५ सम्म हिउँ नपर्दा अनिकाल पर्ने र वर्षे बाली तथा फलफूलहरु राम्रो हुँदैन भनेर कृषि विज्ञहरुले नै भनिरहेका छन्। तर यो वर्ष पुष सकिएर माघ लाग्दासमेत हिउँ परेको छैन।

हिमालमा हिउँ होइन, कालापत्थर मात्रै देखिन्छन्। जसले अनिकालको संकेत गरिरहेको छ। यो सबै जलवायु परिवर्तनको कारण भएको मौसमविद्हरुको भनाइ छ।

मंसिर महिनाको अन्त्यतिर वा पुषमा हिउँ परेन भने हिउँद छोटो हुन्छ। धेरै चिसो खप्नु पर्दैन भनेर जुम्लीहरु खुसी हुन्छन्। यतिसम्म हुँदा सुखद् संयोग जुरेको मानिन्छ।

सिँचाइको बन्दोबस्त नभएको र आकाशे पानीको भर पर्नुपर्ने हुनाले हिउँ आइदेओस् भनी किसानहरु निलो आकाशतिर हेरेर कालो बादल मडारिएको कल्पना गर्छन्।

यसैबेला बेलकुनीलाई हिउँ ल्याइदिने आशा गरिन्छ। बेलकुनी एउटा मिथ हुन्। जाे स्त्रीको रुपमा प्रकट हुन्छिन्। उनी हरेक वर्षको पुष १२ गते माइत जान्छिन् र १६ गते घर फर्किन्छिन्।

उनी माइत जाने र आउने दिन जुम्लीहरु दिनभरि घरको चुलो खाली राख्दैनन्। खासगरी उनी हिउँ ल्याउन माइत गएकी हुन्छिन्। यो कुरा थाहा पाएका माइतीले समेसम्म १२ देखि १५ गतेसम्म हिउँ आफैँ पठाइदिन्छन्। नभए उनी फर्किनेबेला सँगै हिउँ लिएर फर्किन्छिन्।

पुष १२ गतेसम्म हिउँ नपरेको साल बेलकुनीप्रति ठूलो आशा हुन्छ तर जब १६ गते पनि हिऊँ आउँदैन, तब बेलकुनीका माइतीलाई समेत अनिकाल परेको लख काट्न थालिन्छ र गाउँघरमा अनिकाल पर्न सक्ने चिन्ता बढ्छ।

जिउलाका खेतमा जौ बिस्तारै बढ्न थाले पनि पाखाका बारीका जौ-गहुँ पँहेलिन थाल्छन्। त्यसमाथि आम्दानीको प्रमुख स्रोत बन्न लागेको स्याउका लागि पनि हिउँ पर्न जरुरी हुन्छ।

हिउँ नपरेर हिउँदे बाली तथा वर्षे फलफूल नहुने छाँटकाट दुखेपछि जुम्ली किसानहरुका मन बहलिन थाल्छन्।

यो वर्ष माघ महिनाको दोस्रो सातामा लाग्दा पनि जुम्लामा हिमपात नभएपछि किसानको मनमा चिसो पसेको छ। पुष, माघमा हिमपात भएपछि हिउँदे बाली सप्रिने र वर्षे फलफूल स्याउ, नास्पाती, आरु, ओखरसमेत सिँचाइ हुने हुँदा बालीनाली तथा स्याउ उत्पादन बढ्छ।

समयमै पानी नपरेपछि उत्पादन घट्छ भने वार्षिक आम्दानीमा पनि ह्रास आउँछ।

चन्दननाथ-१० बोहरागाउँकी गौकली सार्कीलाई पनि यही कुराको पीर छ। एक सय पचास बुटा भएको स्याउको बगैंचा भएकी उनलाई हिउँ नपरेपछि उत्पादन गतिलो हुँदैन कि भन्ने पीरले सताउन थालेको छ।

'अहिलेसम्म हिउँ पडेको नाई। यो साल स्याउँ फल्दैनन्। फारममा सिँचाइको सुविधा नाई,' उनले भनिन्, 'मुख्य आम्दानीको स्रोत सुकेपछि मुल सुकेको नाउलो जस्तो हुन्या भयो यो साल।'

जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ। सबै क्षेत्रमा सिँचाइको सुविधा छैन। पुष, माघको हिमपातकै भरमा हिउँ सङ्कलन गरी खाडल बनाएर हाल्ने हिउँ पोखरी निर्माण बनाउने हो।

यदि प्रशस्त हिउँ परेको खण्डमा बिरुवाले प्रशस्त पानी पाउँछन् तर हिउँ नै नपरेपछि स्याउ बगैँचामा कसरी सिँचाइ गर्ने भन्नेबारेमा स्याउ किसान निकै चिन्तित छन्।

पातारासी गाउँपालिका उर्थुका किसान दलबहादुर बुढथापाले भने, 'स्याउका नयाँ बिरुवा रोप्ने समय आइसक्यो हिउँ परेको नाई। सबै ठाउँमा सिँचाइको सुविधा छैन। हिउँ परेको भए जमिन ओसिलो हुन्थ्यो र बिरुवा छिटो हुर्कन्थ्यो। यस्तो बेला बिरुवा कसरी रोप्ने र हुर्काउने भन्ने चिन्ता छ।'

कृषि विकास कार्यलयल अनुसार जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्।

यसपालि बेलैमा हिउँ पर्ला, स्याउ बगैँचामा सिँचाइ गरौँला, काँटछाँट गरौँला भन्ने सोचेका जुम्ली किसानलाई पीर परेको छ।

अन्नबाली र स्याउ दुबै नभएपछि ठूलो समस्या आउन सक्ने बताउँछन्, कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा। उनले भने, 'पुष-माघको महिनामा जुम्लामा हिमपात हुन अति आवश्यक छ। नत्र उत्पादन घट्छ।'

उनका अनुसार जुम्लामा कृषि उत्पादन वृद्धि हुन हिउँद समयमै हिमपात हुन र पानी परिरहन आवश्यक हुन्छ। तर यसपालि हिउँ नपर्दा हिउँदे बाली र वर्षे फलफूलमा उत्पादन घट्न सक्ने सम्भावना रहन्छ।

विगतमा धेरै हिउँ पर्‍यो भनेर दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका छन्। जलवायु परिवर्तनको कारण ढिलासम्म हिमपात नभएपछि किसान चिन्तित भएको कृषि विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: : 2024-01-23 21:55:00

प्रतिकृया दिनुहोस्

    उत्कृष्ट लेख दाजु ❤️🙏

    • 3 महिना अगाडि
    • विष्णु नेपाली