आम जनता पार्टी (आजपा)ले आज मधेस बन्द गरेको छ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितीय पीडित संघर्ष समितिले मधेस बन्द गरेको हो।
बिहानैदेखि आजपाका नेता-कार्यकर्ताले मधेसका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।
बन्दले मधेसको यातायात ठप्प भएको छ। बजार, उद्योग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भएका छन्। मधेसका विभिन्न ठाउँमा बिहानैदेखि सामान्य झडप भइरहेको छ।
‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवीत्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेस बन्द गरेको हाे।
यसैबीच प्रदर्शनमा उत्रिका सयौँ नेता-कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ। मधेस प्रदेशको आठ वटै जिल्लामा प्रदर्शन जारी रहेको छ। वीरगंज, कलैया, जनकपुर, गौर चन्द्रपुर, लालबन्दी, लहान, राजविराजलगायतका ठाउँमा प्रदर्शन जारी रहेको छ।
प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्रभुषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेता-कार्यकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जनकपुरस्थित कार्यालयमा राखेको छ।
यता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादवसहित सयौँ नेता-कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा राखेको छ।
यसैगरी आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव विजय यादवलगायतकालाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको वीरगञ्जमा राखेको छ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आजपा रौतहट इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीलगायतका दर्जनौँ नेताकार्यकर्तालाई पक्राउ गरी चन्द्रपुरमा राखेको छ।