बिहारमा राजनीतिक उतारचढाव: मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

Photo - aajtak
Photo - aajtak

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

सरकारमा लामो रस्साकस्सीपछि भारतको बिहारका मुख्यमन्त्री नितिशले पदबाट राजीनामा दिएका हुन्।

आइतबार बिहान ११ बजेतिर उनले बुझाएको राजीनामा स्वीकृत गर्दै बिहारका राज्यपाल राजेन्द्र विश्वनाथले अर्को व्यवस्था नभएसम्मका लागि उनैलाई ‘काम चलाउ’का रुपमा काम गर्न भनेका छन्।

भारतीय जनता पार्टीबाहेक विपक्षीहरूको गठबन्धनको नेतृत्व गर्दै उनी मुख्यमन्त्री भएका थिए। अब फेरि भारतीय जनता पार्टीसँगकै नयाँ गठबन्धनमा उनी नै मुख्यमन्त्री हुनेछन्।

यद्यपि उनका लागि भाजपासँगको गठबन्धन नयाँ होइन। यसअघि पनि उनी भाजपासँगै थिए। तर बीचमा छोडेर उनले विपक्षीहरूको नयाँ गठबन्धन बनाएका थिए।

राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले राजीनामा दिएको र अब लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धन नरहेको बताए।

‘मैले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेको छु र सबैको रायसल्लाहअनुसार अब मसँगै यो सरकार पनि विघटन भएको तपाईंहरूले सुनेजस्तै अब नयाँ गठबन्धनको सरकार हुनेछ’, उनले भनेका छन्।

२०२२ मा उनले भारतीय जनता पार्टीसँगको गठबन्धन(एनडिए)  भत्काएर लालु यादवको पार्टीसँग नयाँ गठबन्धन बनाएका थिए र आफू मुख्यमन्त्री भएका थिए।

अब फेरि उनले यादवको नेतृत्वको गठबन्धन छोडेका छन् र फेरि भाजपासँगै गाँसिनेछन्।

प्रकाशित मिति: : 2024-01-28 14:57:00

प्रतिकृया दिनुहोस्