सिंजाको बहुप्राविधिक शिक्षालयका लागि जग्गा पास 

सिंजा गाउँपालिका- ६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको लागि जग्गा पास भएको छ। सिंजा गाउँपालिकाको लगातारको प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे हो।

जग्गा प्राप्तिपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ। हालसम्म कूल १७ हजार १६५ वर्ग मिटर जग्गा प्राप्त भएको छ भने बाँकी जग्गा प्राप्तिको क्रममा रहेको सिंजा गाउँपालिकाले जनाएको छ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरले सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले बताए। उनले भने, ‘सोहीअनुसार प्राविधिक शिक्षालयको जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको हो।’

उनकाअनुसार प्राविधिक शिक्षाले मान्छेलाई काम गरी खाने बनाउँछ। रोजगारीसमेत सिर्जना गर्ने प्राविधिक शिक्षा उत्पादनमुलकसमेत हुन्छ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयका लागि बुधबार  औपचारिक रुपमा जग्गा पास भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए।

‘आज हामी बहुप्राविधिक शिक्षालयको नाममा जग्गा लिन सफल भएका छौं। अब चाँडै नै भर्ना लिने तयारी गरिरहेका छाैं,’ उनले भने।

सिंजाकाे विकट बस्ती भाडगाउँमा स्थापना सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्दा विपन्नका छोराछोरीकाे प्राविधिक शिक्षामा सहज पहुँच हुने सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताइन्।

‘लामो समयको प्रयासपछि सिंजा गाउँपालिकामा स्थापना हुने बहुप्राविधिक शिक्षालयको निम्ति जग्गा पास गराउन सफल भएका छौं,’ उनले भनिन्, ‘हामी पहिला आङ्गिक शिक्षालय स्थापनाका लागि जग्गा पास गर्न पनि सफल भयौं।’

यसअघि बहुप्रविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो। समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्साएपछि यो ठुलो उपलब्धि हासिल भएको पालिका अध्यक्ष धितालले बताए।

प्रकाशित मिति: : 2024-01-31 20:19:00

प्रतिकृया दिनुहोस्