जुम्लाको तातोपानी गाउँपालिकाको १४औँ गाउँसभाले एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिनेसम्बन्धी कार्याविधि पास गरेको छ। कार्यविधि पास भएसँगै एमबिबिएस पढ्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।
तातोपानी गाउँपालिकाले गत वर्षको नीति तथा कार्यक्रममा एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको थियो। तर, नीतिगत समस्या परेको हुनाले कसैले छात्रवृत्ति पाउने स्थिति नबनेको पालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष अमरबहादुर रोकायाले बताए।
‘तातोपानीमा अहिलेसम्म डक्टर पढेको जनशक्ति छैन। बाहिरबाट आएर पनि कसैले सेवा गर्न चाहेको देखिदैन,’ उनले भने, ‘जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ। त्यसैले गाउँपालिकाले हरेक वर्ष एक जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने निर्णय गरेको हो।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले हरेक शैक्षिकसत्रमा एक जनालाई छात्रवृत्तिमा एमबिबिएस पढाउने लक्ष्यसहित गाउँपालिकाले यस्तो निर्णय गरेको बताए।
‘गाउँपालिकाको १४औँ गाउँसभाले एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० पारित गरेको छ,’ उनले भने, ‘कार्यविधि बनेपछि गाउँपालिकालाई छात्रवृत्तिमा एमबिबिएस पढाउने बाटो खुलेको हो।’
स्वास्थ्य जनशक्ति नहुँदा देखिएका स्वास्थ्य समस्या समाधानको लागि पनि डक्टर पढाउने काम उपयुक्त हुने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।
‘कार्यविधिमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ,’ उनले भने, ‘एमबिबिएस पढ्न चाहिने खर्चको ५० प्रतिशत रकम पालिकाले बेहोर्ने गरी कार्यविधि बनेको हो।’
पालिकाले छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्था गरेको छ। उक्त कोषमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ जम्मा गरिएको छ। कार्यविधि तत्काल राजपत्रमा प्रकाशित गरेर अर्को शैक्षिकसत्रमै एमबिबिएस डक्टर पढाउने कार्यविधि कार्यन्वयनमा आउने छ।
कार्यविधिले पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको संयोजकत्वमा एमबिबिएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति बनाउने व्यवस्था गरेको छ। जसमा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिको संयोजक, प्रधानाध्यापकहरु मध्येबाट १ जना, शिक्षाविद् १ जना, एक महिलासहित तीन जना खुला सदस्य र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने गरी ९ जनाको हुने उल्लेख छ।
विद्यार्थी जेहेन्दार भइकन पनि आर्थिक अभावका कारण एमबिबिएस पढ्न नपाएका विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेर पालिकाले पारित गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यविधि पास गरिएको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बताइन्।
‘तातोपानी गाउँपालिका सरकारले गरेका जनप्रिय छात्रवृत्तिमा एमबिबिएस पढाउने निर्णय महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘डाक्टर पढ्न चाहने तर अर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको यो सुनौलो अवसर हो।’