जनयुद्ध दिवसको दिन कालीकोटका पाँच स्थानीय तहमा सार्वजनिक बिदा 

‘जनयुद्ध दिवस’को अवसरमा कालीकोटका पाँच वटा स्थानीय तहहरुले फागुन १ गते सार्वजनिक बिदा दिएका छन्। जसमा रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका र महावै गाउँपालिका छन्।

कालीकोटका यी पाँचवटा स्थानीय तहहरुले सूचना जारी गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने जानकारी दिएका छन्।

महावै गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाले एक सूचना निकालेर जानकारी दिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रकाशबहादुर शाहीले निकालेको सूचनामा भनिएको छ, ‘महान जनयुद्ध दिवसको स्मरण र सम्मानमा फागनु १ गत गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पूर्ण विद्यालयहरु, स्वास्थ्य संस्थाहरु, सहकारी, बैंक तथा वित्तीय संघ संस्थाहरु, सरकारी कार्यालयहरुमा एक दिनको लागि बिदा रहेको सबैमा यो सूचना जारी गरिएको छ।’

त्यस्तै पलाता गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

फागुन १ गते विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने गाउँपालिका अध्यक्ष बिष्णुबहादुर राेकायाले बताए।

खाँडाचक्र नगरपालिकाकाे १२औँ नगरसभाले जनयुद्ध दिवसकाे अवसरमा, फागुन १ गते ससार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जनयुद्ध दिवसको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो। तथापि, माओवादी आधार इलाका भनेर चिनिने स्थानीय सरकारले उक्त दिन बिदा दिने निर्णय गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-02-12 07:16:00

प्रतिकृया दिनुहोस्