वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्नेहरुलाई सम्मान गर्दै सरकार 

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको हो।

उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्नु पर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले त्यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको हुनुपर्ने उल्लेख गरेकाे छ।

पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ। आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ।

आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने छ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपैयाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अरु सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउनेछन्।

सरकारले २०७६ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-02-12 13:38:00

प्रतिकृया दिनुहोस्