रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।
लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो।