पर्यटन बोर्डका निर्वतमान प्रमुख रेग्मीले बोर्डलाई ध्वस्त पारेको कर्मचारीको आरोप

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्डका निवर्तनमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई बोर्ड ध्वस्त पारेको अरोप लगाएका छन्। 

बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूले रेग्मीले बोर्डको पर्यटन बजार प्रवर्धन तथा व्यवस्थापनको कार्य शुन्यमा झारेर समग्र बोर्डलाइ नै थला पारेर बाहिरिएकाे आरोप लगाएका हुन्। 

‘लामो समयसम्म बोर्डमा निर्देशकको रुपमा काम गरेका वरिष्ठ र अनुभवी व्यक्तीहरूलाई हटाइ विगत चार वर्षदेखि एक तह मुनिको पर्यटन बजार प्रवर्द्धन र व्यवस्थापनमा कम अनुभवी कर्मचारीलाई महत्वपूर्ण महाशाखाको निमित्तको जिम्मेवारी दिएर रेग्मीले बोर्डलाई पंगु बनाएका छन्’, विज्ञप्तिमा भनिएको छ। 

कर्मचारीले यसरी आरोप लगाउनुका पछाडिको कारण भने रेग्मीले एक टेलिभिजनमा दिएको अन्तर्वार्ता रहेको छ। रेग्मीले टेलिभिजन अन्तर्वार्ताका समयमा बोर्डका कर्मचारी, पर्यटन मन्त्रालयलाई विभिन्न दोषारोपन गरेका थिए। 

उनको अभिव्यक्तिको खण्डन गर्दै कर्मचारी संगठनले उनका सबै दोषारोपनको खण्डन गरेको छ।  

यस्तो छ विज्ञप्ति

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन 
प्रेस विज्ञप्ती 

 २०८० फाल्गुन ०२ गते 

गत माघ २६,२०८० मा  नेपाल पर्यटन बोर्डका  निवर्तमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले एक राष्ट्रिय टेलिभिजन मार्फत प्रसारित अन्तर्वार्ता कार्यक्रममा बोर्डका कर्मचारीहरु, कार्यकारी समितिका पदाधिकारीज्यूहरु, पर्यटन मन्त्रालयका सचिवज्यूहरु र माननीय पर्यटन मन्त्रीज्यूहरु प्रति लक्षित गर्दै भ्रामक र कपोलकल्पित ढंगबाट सबैका मान मर्दन हुने गरी दिईएको अभिब्यक्ति  प्रति  नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

 चार वर्षका लागि करारमा नियुक्त रेग्मीको विषयमा २०७८ सालमा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिले गरेको छानविनको प्रतिवेदनमा उनले गरेका कानुन विपरितका कामहरु उल्लेख  छन् l बोर्डकै इतिहासमा नै सबैभन्दा बिवादित र अनुभवहीन छवि बनाएका रेग्मीले मिति २०७८ साल कार्तिक २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमंस्थालबाट नियम विपरित ६ बोतल रक्सी ल्याउन रोकेपछि ड्युटीमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार गरेको कारण भन्सार ऐन, २०६४ को दफा ५८ बमोजिम सजाय समेत पाएका थिए l यस अघिपनि निज डा. रेग्मी २०७४/९/७ मा भन्सार ऐन, २०६४ को दफा  ५७ (१क) बमोजिमको सुन पैठारीको कसुरमा समेत सजाय पाएका व्यक्ती हुन् l

डा. रेग्मीले बोर्डको विधि र नियम सम्मत कामहरुको बारेमा अनर्गल प्रचार गर्ने र यस संस्थाका कर्मचारीहरु र पदाधिकारीहरुलाई निराधार आक्षेप लगाउने जस्ता कार्यहरू गर्नु भएको विषय सामान्य नैतिक मूल्य वाहिर पर्ने मात्र नभै नेपालको प्रचलित कानुनद्वारा समेत वर्जित छ । यस्ता विवादित व्यक्तीले निजको व्यक्तिगत स्वार्थ पुरा गर्न नमानेपछि बोर्ड र बोर्डका कर्तव्यनिष्ठ कर्मचारीहरु र पदाधिकारीहरु विरुद्ध विष वमन गर्दै दिएका अभिव्यक्ती र व्यवहारको  यो संगठन घोर भर्त्सना गर्दछ । 

अन्तर्राष्ट्रियस्तरमा  प्रचार प्रसार गरी नेपाललाई आकर्षक, सुरक्षित र भरपर्दो गन्तव्यको रुपमा विकास गरी राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि र बढी भन्दा बढी रोजगारीको अवसरहरु सृजना गर्ने बोर्डको मुख्य उद्देश्य हो l डा. रेग्मी बोर्डको पर्यटन बजार प्रवर्धन तथा व्यवस्थापनको कार्य शुन्यमा झारेर समग्र बोर्डलाइ नै थला पारेर बाहिरिएका छन् l उनले लामो समयसम्म बोर्डमा निर्देशकको रुपमा काम गरेका वरिष्ठ र अनुभवी व्यक्तीहरूलाई हटाइ विगत चार वर्ष देखि एक तह मुनिको पर्यटन बजार प्रवर्द्धन र व्यवस्थापनमा कम अनुभवी कर्मचारीलाई महत्वपूर्ण महाशाखाको निमित्तको जिम्मेवारी दिएर बोर्डलाइ पंगु बनाएका छन l जसकारण हाल बोर्डका सवै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमहरु ठप्प भएको कुरा स्पष्ट छ । उनकै निकम्मापन र मनपरी काम गर्ने शैलीका कारण नेपालको पर्यटनले ठुलो घाटा बेहोरिरहेको छ ।

विगतमा निकै अपठ्यारो अवस्थामा, कार्यकारी प्रमुख नहुंदा पनि बोर्डको नेतृत्वमा रहनु भएका कार्यकारी समितिका पदाधिकरीज्यूहरुको सहयोग तथा कर्मचारी प्रतिको भावना र स्नेहको कारण उच्च उत्प्रेरण मनोवल सहित पर्यटन प्रवर्धनका कार्यक्रमहरु कर्मचारीहरुले निष्ठापूर्वक दत्त चित्त रहेर संचालन गरेका थिए । तर पछिल्लो समयमा स्वयम् पूर्ण कालिन कार्यकारी प्रमुख रहँदा पनि बोर्डको महत्वपूर्ण कार्यक्रमहरु संचालन हुन नसक्ने अवस्था आउनु भनेको साह्रै दुखद अवस्था हो र यसको एकमात्र जिम्मेवार पात्र डा रेग्मी हुन् ।

उनले बोर्डको नेतृत्व गरिरहँदा बोर्डलाई यसको मुख्य उद्देस्यबाट विमुख गराउने कार्य मात्र नभई उनको सबै ध्यान गैरकानुनी ढंगले बोर्डको रकम खर्च गरी आफ्नो निजि व्यवसाय प्रवर्धन र विस्तार गर्न  कर्मचारीहरुलाई दवाव दिने, नगरेमा कारवाही गर्ने र बढुवा हुन नदिने जस्ता गतिविधिमा केन्द्रित थियो ।    

सुसासनको कुरै सुन्न नचाहने रेग्मीले सार्वजनिक खरिद संबन्धि कानुन मिचेर कुनै प्रतिफल नआउने काममा करोडौं रकम खर्च गरी दुरुपयोग गर्नु भएको थियो भने अर्को तर्फ लोकसेवा आयोग र नेपाल सरकारबाट सहमति प्राप्त भएको डेढ दसक भन्दा बढी बोर्डको निरन्तर सेवामा रही बढुवा हुन नसकेको कर्मचारीको नियम सम्मत हुनु पर्ने बढुवाको विज्ञापन आफ्नो कार्यकाल भरी रोकेर कलुसित र प्रदुसित मनसाय प्रदर्शन गर्नु भएको समेत यस  प्रेश विज्ञप्ति मार्फत सबैमा जानकारी गराउंदछौं ।

नेपालको संविधान, २०७२ को धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मान पुर्वक बाँच्न पाउने अधिकार सुनिस्चित गरेको छ l एकले अर्को व्यक्तिलाई सम्मान सूचक शव्दहरुको प्रयोग गरेर संबोधन गर्नु पर्ने कानुनी व्यवस्थाको विपरित आफुलाई मध्ययुगीन तानासाह जसरी  प्रस्तुत गर्दै पर्यटन व्यवसायीहरुलाई “झोले” भनी अपमानजनक अभिव्यक्ती दिने र सेवाग्रहीहरुसंग दुर्व्यवहार गर्ने गरेका थिए l “म नै कानुन हो म नै सर्वेसर्वा हो” भन्ने जस्ता अभिव्यक्ती दिने रेग्मीले कर्मचारीहरुमाथि गर्ने दुर्व्यवहारको पराकाष्ठ जो कसैले सजिलै अन्दाज लगाउन सकिन्छ l 
 
डा. रेग्मीको कार्यकाल नेपाल पर्यटन बोर्डका लागि एक अंध्यारो काल खण्डको रूपमा रहेको छ ।आगामी दिनहरुमा सरकारी / निजि सहकार्यको नमुना संस्था र यसका इमान्दार र कर्मठ कर्मचारी विरुद्ध र यस बोर्ड सँग प्रत्यक्ष र अप्रतक्ष्य सम्वन्ध हुने कार्यकारी समितिका पदाधिकारीज्यूहरु, पर्यटन मन्त्रालयका सचिवज्यूहरु र माननीय पर्यटन मन्त्रीज्यूहरु प्रति यसरी निर्लज्ज रुपमा वाहियात र बेढंगी कुप्रचार नगर्न यस संगठन चेतावनी दिन चाहन्छ । 

अध्यक्ष 

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन 


 


 

प्रकाशित मिति: : 2024-02-15 14:50:00

प्रतिकृया दिनुहोस्