प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए।
‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्ययम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो। यसबीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालीमा आवद्ध हुन तयार रहेको भन्दै पत्राचार गरेको छ। र पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफलसमेत गरेका छन्। टिकटकले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन। सामाजिक सञ्जालको प्रयोग नियमनसम्बन्धी विधेयकको मस्यौदा तयार भई संघीय संसदमा पेश गर्न लागिएको छ,’ उनले भने, ‘पछिल्ला दिनहरूमा नेपालमा सूचना प्रविधिका क्षेत्रमा उल्लेख्य मात्रामा जनशक्ति वृद्धि भएको छ। यस क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरुले यस वर्ष करिब १ खर्ब रुपैयाँ स्वदेशमा ल्याउँदैछन्। सरकारले सूचना तथा प्रविधिको क्षेत्रमा अवरोधका सबैं गाँठा फुकाउनेछ र अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान गुणात्मक रुपमा बढाइनेछ।’