जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ।
यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले राससलाई जानकारी दिएका छन्।
हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ। पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो। उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताएका छन्।