फोन गर्छु भन्दै मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन्।
यो मोबाइल चोरी गर्ने गिरोह नै रहेको रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए। यो गिरोहले गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएर फोन गर्ने भन्दै मोबाइल मागेपछि भागेका थिए।
उक्त समयमा दुई युवा थिए। यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो।
विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो। ‘यसको लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो । सिसीटिभी लगायतबाट अनुसन्धान गरिरहेका थियौँ’, प्रहरी प्रवक्ता भट्टले भने, ‘बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ।’
यही समूहले रुपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ।