श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री आफैँ ताहाचल पुगेर कार्यालयको अनुगमन गरेका हुन्। 

कार्यालयमा पुगेर मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका थिए। त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको विषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका हुन्। 

श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए। मन्त्रीको निर्देशन पछि कार्यालयको २० वटा कम्प्यूटर अपटेड गरिएको छ। कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाईएको छ।

त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ। हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति तर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने  र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ। तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ। 

प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी छ। 

यसका साथै दिउँसो एक बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ। विहान नौ बजे देखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर 'स्लो' हुने भएकाले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो। 

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन्। त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन्। कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ।

कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिईदै आएको छ। तीन दिन भित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ।
 

प्रकाशित मिति: : 2024-03-21 19:59:00

प्रतिकृया दिनुहोस्