हाजिरी जमानीमा छुटे कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई शुक्रबार हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो।

स्वास्थ्य अवस्थाका कारण महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको सीआईबीले जनाएकाे छ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो। महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। सीआईबी र सरकारी वकिलले बयान सकाएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

जिल्ला अदालतले कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगेर भर्ना गरिएको थियाे।

महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ।

ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयं महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आएका छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो।

यसअघि भने सिआइबीले उनलाई बयान कागज गराएर मात्रै छाडेको थियो। उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको आरोगले औँल्याएको छ। 

प्रकाशित मिति: : 2024-03-22 13:47:00

प्रतिकृया दिनुहोस्