प्रदीप शर्मा: ‘इनकाउन्टर स्पेशलिस्ट’देखि आजीवन कारावाससम्म

photo–getty images
photo–getty images

महाराष्ट्रका पूर्व पुलिस अधिकारी तथा इन्काउन्टर विशेषज्ञ प्रदीप शर्मालाई बम्बई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

सन् २००९ मा रामनारायण गुप्ता उर्फ ​​लखन भैयाको नक्कली मुठभेड मुद्दामा उनलाई उक्त सजाय दिइएको हो।

उनलाई तीन साताभित्र आत्मसमर्पण गर्न समय दिइएको छ।

करिब २५ वर्ष काम गरेपछि शर्मा पछिल्लो केही वर्षदेखि राजनीतिमा सक्रिय हुन खोज्दै थिए।

तर अदालतको फैसलाले उनको राजनीतिक प्रयासलाई धक्का लागेको छ।

को हुन् प्रदीप शर्मा ?

प्रहरी सेवाबाट अवकाश पाएपछि राजनीतिक अवसर खोज्दै आएका प्रदीप शर्मा नालासोपाराबाट शिवसेनाको टिकटमा विधानसभा चुनाव लडेका थिए।

शर्मा परिवार मूल रूपमा उत्तर प्रदेशको आगराको हो। यद्यपि, प्रदीप शर्माका बुबा महाराष्ट्रको धुले जिल्लामा बसोबास गरेका थिए र शिक्षक थिए।

शर्माको प्राथमिक शिक्षादेखि एमएससीसम्मको शिक्षा धुलेमा मात्रै भएको थियो। पढाई सकेर ‘एमपीएससी’मा नोट भई प्रहरी सेवामा भर्ना भए। 

प्रहरी सेवाको आकर्षणको बारेमा कुरा गर्दै उनले भने, ‘धुलेमा हुँदा हाम्रो छिमेकमा एकजना इन्स्पेक्टर बस्थे, हामी सानै छँदा उहाँलाई हेर्थ्यौं, उनी पोसाक लगाएर बाइक चलाउने गर्थे। प्रहरी सेवा। मेरो आकर्षणको एउटा कारण त्यो पनि थियो।’

१९८३ को पुलिस ब्याच

राज्य पुलिस सेवा अधिकारीहरूको १९८३  ब्याच महाराष्ट्रको सबैभन्दा प्रसिद्ध पुलिस बने। 

यो समूहमा प्रफुल्ल भोसले, विजय सालस्कर, रवीन्द्र आंग्रे र अस्लम मोमिन जस्ता 'इनकाउन्टर विशेषज्ञ' भनिने प्रहरी अधिकारीहरू थिए।

प्रदीप शर्मा पनि त्यही ब्याचका हुन्। यो ब्याचले नासिक प्रहरी तालिम विद्यालयमा तालिम लिएर सन् १९८४ मा प्रहरी सेवा सुरु गरेको थियो। 

प्रदीप शर्मा पहिलो पटक मुम्बईको माहिम पुलिस स्टेशनमा पुलिस सब इन्स्पेक्टरको रूपमा नियुक्त भएका थिए। त्यसपछि उनी विशेष शाखामा गए।

यसपछि उनले उपनगरीय मुम्बई पुलिस स्टेशनका प्रमुख, अपराध गुप्तचरमा वरिष्ठ प्रहरी निरीक्षक जस्ता विभिन्न पदहरूमा काम गरे।

२६/११ को मुम्बई हमलामा मारिएका प्रहरी अधिकृत विजय सालस्करसँग प्रदीप शर्माको विवाद भएको मिडियामा निकै चर्चा थियो।

विजय सालस्करसँग विवाद

विजय सालस्करसँगकाे विवादमा प्रदीपले एक च्यानलसँग कुराकानी गर्दै आफ्नो धारणा राखेका थिए।

उनले भनेका थिए,  ‘शहीद विजय सालस्कर मेरो मिल्ने साथी हुनुहुन्थ्यो। सन् १९८३ मा प्रहरी तालिमका क्रममा हामी एउटै टोलीमा थियौं। तालिममा थरको पहिलो अक्षरले टोली बनाइन्छ। उहाँको थर सालस्कर र मेरो थर शर्मा हो।’

उनी थप्छन्,  ‘त्यसैले हामी एउटै टोलीमा थियौं। हामी एक वर्ष सँगै बस्यौं। मुम्बई आएपछि पनि हामी धेरै वर्ष सँगै रह्यौं। अपराध शाखामा पनि सँगै काम गर्यौं। हामीले सँगै केही ठूला अपरेशनहरू पनि गर्यौं।’

सालस्करसँग गरेको काम अझै सम्झने गरेकाे उनले बताए। आफूसँगभन्दा विजयसँग सञ्जालको ठुलो नेटवर्क रहको उनले बताए। 

विजय र आफ्नो सम्बन्धलाई मिडियामा बढाइचढाइ प्रकाशित गरेकाे बताउँदै उनले भने,  ‘हाम्रो झगडा सूचनाको लागि मात्र थियो।’

सन् २००९ मा रामनारायण गुप्ता उर्फ ​​लखन भैयाको हत्या मुद्दामा प्रदीप शर्मा पक्राउ परेका थिए। उनीसँगै १३ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

तर, चार वर्ष ठाणे केन्द्रीय कारागारमा बिताएपछि प्रदीप शर्मा २०१३ मा रिहा भएका थिए। यस मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

अम्बानी मुद्दा

प्रदीप शर्माको नाम एन्टिलिया हत्या प्रकरण र उद्योगपति मुकेश अम्बानीको घरमा मनसुख हिरेन हत्या प्रकरणमा पनि आएको थियो।

यस मामिलामा एनआईएले उनलाई पक्राउ पनि गरेको थियो।

२५ फेब्रुअरी २०२१ मा एन्टिला क्षेत्रमा विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो।

यस कारका मालिक तथा उद्योगी मनसुख हिरेनको शव चैत २१ गते ठाणे नजिकै भेटिएको थियो।

शर्मामाथि मनसुख हिरेनको हत्यामा प्रहरी जवान सचिन वाजेलाई सहयोग गरेको आरोप छ। –बीबीसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2024-03-25 12:23:00

प्रतिकृया दिनुहोस्