प्रहरी समायोजन रोकिएकाले संघीयता कमजोर भयो भन्नु गलतः गृहमन्त्री लामिछाने 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको भन्न नहुने बताएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा प्रहरी समायोजन मात्रै नभएको बताएका हुन्। 

बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको थियो। छलफलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजनजस्ता अत्यावश्यक विषयसमेत नटुंगिदा संघीयताको औचित्यमै प्रश्न उठाउन थालिएको बताएका थिए। 

जवाफमा गृहमन्त्री लामिछानेले प्रहरी समायोजन विधेयक जति सक्दो छिटो अघि बढाउने तयारी रहेको जानकारी गराउँदै भने,  ‘संविधानले प्रदेशलाई दिएको अधिकार नदिने भन्ने हुँदैन, त्यसमा केही विलम्ब भएको होला। तर, त्यतिले मात्रै प्रदेशले काम गर्न नसकेको भनेर औचित्यमै प्रश्न उठाउनु जायज होइन।’

प्रकाशित मिति: : 2024-03-28 18:43:00

प्रतिकृया दिनुहोस्