सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारगारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन्।
शनिबार बिहान कतर्व्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका– ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए। सो घटनापछि अन्य कैदीबन्दीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने आवाज उठाएका हुन्।
राईका आफन्तजनले भने उनको करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन्।
कारागारका जेलर ध्रुव्र कोइरालाले भने राईको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्। श्वासप्रश्वासमा समस्या रहेकाले राईलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको उनको भनाइ छ।
मृतक राईका दाजु सुभाष राईले भने भाइको कारगारभित्रै हत्या गरिएको आरोप लगाउँदै सो घटनाको छानबिन गर्न माग गरेका छन्। मृतक राईको शरीरभरि नीलडाम रहेका, कान सुन्निएको र चोट देखिएकाले कुटपिटबाट हत्या गरिएको उनकी भाउजू उर्मिला राईको भनाइ छ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले भने राईको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको बताए।
आवश्यक छानबिनसहित शव परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिँदा पनि सुनसरी प्रशासनले निवेदन दर्ता गर्न नमानेको बराहक्षेत्र– १० का वडाअध्यक्ष तेज गुरुङले बताए।