नाउपा विवाद: ह्वीपको काउन्टरमा अर्को ह्वीप

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद चरमाेत्कर्षमा पुगेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको ह्विपको विरुद्धमा प्रदेशका प्रमुख सचेतकले काउन्टर ह्वीप जारी गरेका छन्।

अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेशसभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न काउन्टर ह्विप जारी गरेका हुन्।

सचेतक डगौराले जारी गरेको ह्विपमा विश्वासको मत दिने बैठकमा अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भन्दै विश्वासको मतको पक्षमा मतदान गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन जारी गरेका छन्।

यसअघि अध्यक्ष रञ्जिताले संसदीय दलको विधान बनिनसकेकोले ह्वीप जारी गर्ने अधिकार पार्टी अध्यक्षलाई भएको भन्दै विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन्।

प्रकाशित मिति: : 2024-04-03 20:24:00

प्रतिकृया दिनुहोस्