राेल्पाकाे पहिचान (तस्बिरहरु)

Breaknlinks
Breaknlinks

गत हप्ता राेल्पाका सबै स्थानीय तहका करिब चार दर्जन स्वास्थ्यकर्मीकाे थबाङमा जमघट थियाे। थबाङ गाउँपालिकाकाे सभाहलमा आयाेजित स्वास्थ्यसम्बन्धी गाेष्ठीमा जमघट भएका स्वास्थ्यकर्मीहरुले विभिन्न कार्यपत्रमार्फत आफ्ना अनुभवहरु सुनाए। जिल्ला स्वास्थ्य कार्यालय राेल्पाकाे आयाेजनामा सम्पन्न गाेष्ठीपछि जलजला घुम्ने याेजना बन्याे।

कार्यक्रम अत्यन्त सफल रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुनले जानकारी गराए। रोल्पा जिल्लाका स्वस्थ्य अधिकारीलगायत विज्ञहरुको टोलीले प्रस्तुत गरेका कार्यपत्रमा निकै राम्रा अनुभवहरु समावेश गरेका थिए।

करिब डेढ दशकदेखि थबाङलाई दोस्रो घर बनाएर स्वास्थ्य सेवा प्रदान गरिरहेका जापानिज डाक्टर इशिदाले पनि नेपाल भ्रमण, स्वास्थ्य सेवा, नेपालकाे अवस्था अवस्था र नेपालमा काम गर्दाका अनुभवहरु स-बिस्तार सुनाएका थिए।

दिनभर गाेष्ठीमा सहभागी स्वास्थ्यकर्मीहरु शुक्रबार साँझ सांस्कृतिक कार्यक्रममा सरिक भए। र, शनिबार बिहान नास्ता (खाजा) खाएर टोली जिपमार्फत् थबाङबाट फुन्टिबाङ हुँदै करिब २८ सयको उचाइमा पहाडमा पुग्याे। त्यहाँबाट गुराँस ढकमक्क जंगल छिचाेल्दै टाेली उकालाे लाग्याे। भेँडा, जंगल र टाढा-टाढाकाे राेमाञ्चित दृश्यावलाेकन गर्दै टाेलीले जलजला पहाड टेक्याे।

अनि, टाेलीले बज्यू बराह, कैलु बराह र सतदेवका मन्दिरकाे दर्शन र भामा गुफाको भ्रमण पनि गर्‍याे।

जलजला

जलजला समुन्द्र सतहबाट ३००० देखि ३६५० मिटर उचाइमा फैलिएकाे भू-भाग हाे। राेल्पा जिल्लाकै सबैभन्दा अग्लाे जलजला क्षेत्र (पहाड) धार्मिक, प्राकृतिक र ऐतिहासिक रुपले प्रसिद्ध छ।

अर्थात्, जलजला राेल्पाकाे पहिचान हाे।

जलजला क्षेत्रको बिच भागमा सानाे उपत्यका छ। त्यहाँ बज्यू बराह, कैलु बराह र सतदेवका मन्दिर छन्। मन्दिरबाट करिब १५ मिनटको दूरीमा विशाल भामा गुफा पनि छ। यहाँ वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्छ। जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्रभाइ बराहजस्ता देवताको पूजा गरिन्छ। वर्षेनि सयौँ भक्तालुजनहरुले भेँडा र कुखुराको बली दिएर पूजा गर्छन्। बराह देवताको पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

रोल्पासहित छिमेकी जिल्लाहरु सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), जाजरकोट, दाङ, नेपालगञ्जलगायतबाट सयौँ भक्तालुले दर्शन गर्न पुग्छन यहाँ।

किंवदन्तीअनुसार बाह्रभाइ बराह र बाइसबहिनी बज्यू बराह उत्पत्ति यहाँ भएकाे स्थानीयहरुकाे भनाइ छ।

जलजला क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्छन। घोरल, थार, रतुवा, हरिण, बँदेल, बाघ, चितुवा, भालु, दुर्लभ वन्यजन्तु रेड पाण्डालगायत जनावर पाइन्छ। त्यस्तै डाँफे, मुनाल, कालिजलगायत सयौँ चराचुरुंगी पनि देख्न पाइन्छ। भने, घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे, भारमासे, पातव, ढालमुन्द्र, विन्जोरी, ढोंगे, सुनगाभा आदि फूल तथा जडीबुटी पाइन्छ यहाँ।

जलजलाकाे काखमा रहेका थबाङ, उवा, जेलबाङबासीलगायतले जलजला पहाडलाई आस्थाको प्रतीकको रुपमा मान्छन्। आकाश खुलेको समयमा उत्तरतिर सेताम्मे सिस्ने, पुथा, डोगारी, गुर्जा र धौलागिरि हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ। हिउँदमा जलजला हिउँले ढाकिन्छ।

उत्तरमा ढोरपाटन क्षेत्र माथिका हिमालको दृश्य देखिन्छ।

वर्षायाममा थरिथरिका रङ्गिबिरङ्गीका भुइँफूल पनि फुल्ने याे क्षेत्रलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षित क्षेत्र घोषणा गरेको छ। गुरिल्ला ट्रेल र जलजला ट्रेलको आकर्षक गन्तव्य जलजला नै हो।

यतिबेला वसन्त ऋतुकाे समय छ, वसन्त ऋतुकाे बहारस्वरुप जलजला क्षेत्र गुराँस फुलेर ढकमक्क छ।

कसरी पुग्ने?

काठमाडौँबाट लिवाङसम्म बस वा माइक्रो बसमा करिब १२ घण्टा। लिवाङवाट धवाङ हुँदै साढे २ घण्टाको जिप यात्रामा ओख्रेनी पुगिन्छ। त्यहाँबाट धरमपानी हुँदै जलजला करिब ५-६ घण्टा पैदलमार्ग छ।

त्यस्तै सुलिचौरबाट जेलवाङसम्म डेढ घण्टाकाे जिप यात्रा, जेलवाङबाट सुल्कबाङ हुँदै ६-७ घण्टाको पैदलयात्रामा।

थबाङबाट चलाबाङसम्म गाडीमा ३० मिनेट, त्यहाँबाट ४-५ घण्टा पैदलमार्ग। वा, सलापसम्म जिप र बाइकमा त्यहाँदेखि डेढदेखि दुई घण्टा पैदलयात्रामा जलजला।

पोखरा, बुर्तिबाङ, रूकुम (पूर्व)को खाबाङ बगर, महतगाउँ, थबाङ हुँदै पनि जलजला पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2024-04-06 13:00:00

प्रतिकृया दिनुहोस्