प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता २२ गतेदेखि हुने

प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ।

प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो।

प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी गराइन्।

‘समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन्। प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ। सबै पालिकामा पत्राचार गरिसकिएको छ। यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ’, संयोजक गोलेले भनिन्।

कूल पुरस्कार राशि रु १२ लाख रहेको प्रतियोगिताको विजेतालाई रु तीन लाख, उपविजेतालाई रु दुई तथा तृतीय हुने रु दुई टिमलाई रु एक/एक लाख प्रदान गरिनेछ। साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार रहेको छ।

प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको जानकारी गराउँनदै उनले प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ। यसैगरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको बताइन्।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्रीका निजी सचिवालय सदस्य शान्ताकुमार दराईले युवामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जानकारी गराए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको उनले जानकारी गराए।

प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ। प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ।

नेकपा (माओवादी केन्द्र) ललितपुरका इञ्चार्ज हरि दाहालले प्रतियोगिता सफल पार्नका लागि पार्टीका स्थानीय कमिटीलाई समेत परिचालन गरिएको बताए।

‘हामीले बागमती प्रदेशभित्रका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर खेल सञ्चालन गर्न लागेका हौँ। यसमा विभागीय टिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन। टिम दर्ताका लागि पालिकाको सिफारिसमा नाम उल्लेख हुनु अनिवार्य छ’, दाहालले भने।

प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानको व्यापकरुपमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ। यस क्षेत्रका महाकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ।

प्रकाशित मिति: : 2024-04-23 16:06:00

प्रतिकृया दिनुहोस्