फुपुकी छाेरी हत्या आरोपमा ९ वर्षपछि मामाका छोरा पक्राउ

नौ वर्षअघि फुपुकी छोरीको हत्या गरेको आरोपमा मामाका छाेरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको तत्कालीन गुहु गाविस– ५ का ४७ वर्षीय समरबहादुर सार्की रहेका छन्। 

उनलाई आइतबार (बैशाख १६ गते)काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।

उनीमाथि २०७१ साल कार्तिक १ गते फुपुकी छोरी सुनमाया किसान (सार्की)को हत्या गरेको आरोप छ। सुनमाया २०७१ साल कार्तिक १ गते काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रमको शौचालयमा मृत भेटिएकी थिइन्। 

गुहु गाविस– ५ कै उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए पदमा कार्यरत थिइन्। र उनी मामा गंगाबहादुर सार्कीसँगै सोही आरोग्यमा बस्दै आएकी थिइन्। हत्या आरोपमा पक्राउ परेका समरबहादुर उनै गंगाका छोरा हुन्। 

त्यस समयमा समरबहादुर काठमाडौँको ढुङ्गे अड्डामा ज्यामी काम गर्दै आएका थिए। ९ वर्षअघि कार्तिक हत्याको अघिल्लो दिन उनी बुबा बस्ने ठाउँ आरोग्मा बस्न आएका थिए।

साेही दिन गंगाबहादुर काेठामा थिएनन्। समर र सनमाया राति सुत्ने समयमा मोबाइलमा फोन गरेकाे विषयमा विवाद भयो। सुनमायाले केटाहरुसँग फोनमा बोलेको भन्दै समरले उनको मोबाइल फालिदिएका थिए।

त्यसपछि विवादले उग्ररुप लिएको थियो। र सुनमायाले हसियाँले प्रहार गर्दा समरको औलामा चोट लागेको थियो। त्यसपछि रमरले सुनमायालाई हिर्काउँदा उनी पलङको डिलमा ठोकिएर बेहोस भएकी थिइन्।

बेहोस भएको आधा घण्टामा पनि उनको होस नखुलेपछि समरले घाँटी थिचेर हत्या गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

हत्या गरेर समरले शव शौचालयमा फालिदिएका थिए। त्यरपछि उनी भारत भागेका थिए। पछिल्लो समय भारतबाट आएको सूचनापछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-04-28 18:39:00

प्रतिकृया दिनुहोस्