प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकार चाैधरीमाथि दुर्व्यवहार 

प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा पत्रकार सहदेव चाैधरीमाथि दुर्व्यवहार भएकाे छ।  बिहीबार राष्ट्रिय सभागृहमा सूचना तथा सञ्चार प्रविधि दिवसमाअायाेजित कार्यक्रममा  चाैधरीमाथि प्रधानमन्त्री कै सुरक्षाकर्मीले दुर्व्यवहार गरेका हुन्। 

अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक चाैधरीले तस्बिर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको  बताएका छन्।

‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बिर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्बिर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको उनले बताएका छन्।

नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेर उक्त घटनाको विरोध जनाएको छ। सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्बिर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्। युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ।

यस्तै प्रविधि पत्रकार मञ्चले पनि पत्रकार चौधरीमाथि भएको दुर्व्यवहारको भत्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

मञ्चका सचिव उन्नत सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनको शिलशिलामा पत्रकार चौधरीमाथि भएको दुर्व्यवहारको हामी जोडदार रुपमा विराेध गर्दछौं।’

यस्तै श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारमाथि दुर्व्यवहार गर्ने दोषी सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न माग गरेको छ भने निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सृजना गर्न सरकार, राज्‍यका निकाय सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-05-03 06:49:00

प्रतिकृया दिनुहोस्