महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले किशोरीहरूलाई अनिवार्य आत्मरक्षा तालिम दिनुपर्ने बताएकी छिन्।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ भालेश्वर माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा उनले यस्तो बताइन्।
‘विद्यालय शिक्षा जस्तै किशोरीहरूका निम्ति आत्मरक्षा तालिम पनि जरुरी विषय हो’, उनले भनिन्, ‘हाम्रो मन्त्रालयले पनि किशोरीहरूलाई आत्मरक्षा तालिम भनेर कार्यक्रम सञ्चालन गर्ने गरेको छ।’
मन्त्री चौधरीले किशोरीहरूमाथि हुनसक्ने विभिन्न हिंसाको अन्त्यका लागि तालिम जरुरी रहेको बताइन्। उनले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाइमा जोड दिनुपर्ने पनि बताइन्।