तयारीको करिब ८ वर्षपछि सरकारले पहिलोचोटी सगरमाथा संवाद गर्दैछ। आजदेखि होटेल सोल्टीमा ३ दिनसम्म हुने यो सम्मेलनमा जलवायु परिवर्तनका असर र त्यसबाट नेपालले भोगिरहेका संकटका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई साक्षी राखेर बहस हुनेछ।
त्यसका लागि विभिन्न सेसनहरूको तयारी गरिएको छ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारा दिइएको यो संवाद कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि छिमेकी अनि अरु पनि कैयौं राष्ट्रका प्रधामन्त्रीहरूलाई समेत निम्तो गरिएको थियो।
तर यी कोही पनि यो संवादमा आएका छैनन्। बिहीबार अबेरसम्म कुनै पनि देशका मन्त्रीहरू सहभागिताका लागि नेपाल आइसकेका छैनन्। आयोजकका अनुसार लगभग आउने सम्भावना पनि छैन। यो संवाद कार्यक्रमको उद्घाटन शत्रमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भिडिओ सन्देश भने प्रशारण हुनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नै सचिवालय रहनेगरी यो संवाद कार्यक्रमको सुरुवात गरिएको हो। संवादको पहिलो संस्करणमा भाग लिनका लागि ३७ देशका करिब १६० जना विदेशी पाहुनाहरू आइपुगेका छन्। यी भनेका केही कुटनीतिक र केही विज्ञहरूसमेत सामेल छन्।
हरेक दुई वर्षमा एकपटक हुने सगरमाथा संवाद संस्करणले गल्ती नै नगरे पनि नेपालले जलवायु परिवर्तनबाट कसरी दु:ख सास्ती ब्यहोरिरहेको छ अनि हाम्रा हिमालहरूको अवस्था के छ भन्नेबारे विश्वलाई जानकारी गराउने विश्वास सरकारको छ।
त्यसमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाहरू पनि सहभागी हुनेछन्।
त्यसका लागि लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो।