भारतको पश्चिमी राज्य गुजरातकाे राजकोटस्थित एक मनोरञ्जन पार्क (टीआरपी गेमिङ जोन)मा शनिबार भएकाे भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।
गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा १२ बालबालिकासहित २८ जनाकाे मृत्यु प्रहरीले बताएको छ।
प्रत्यक्षदर्शीका अनुसार शनिबार भएकाे आगलागीमा यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो। गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्रै फसेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।
मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ। यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन।
गुजरात सरकारले घटनामा लापरबाही गर्नेलाई कडा कारबाही गरिने बताएको छ। घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ।
पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सिआइडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ। एसआईटीका अन्य चार सदस्यमा बञ्चनिधि पानी, एच.पी. संघवी, जे.एन. खाडिया र एमबि देसाई रहेका छन्।
एसआईटीले ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउनेछ। साथै १० दिनभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने छ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाइतेहरूलाई राजकोटस्थित एक अस्पतालमा पुगेर भेट गरेका छन्। उनको साथमा गृहमन्त्री हर्ष सांघवी पनि अस्पतालमा पुगेका थिए।
यता, प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।