गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै दायर भएकाे रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

File Photo
File Photo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएकाे रिटमा आजका लागि पेशी ताेकिएकाे छ। 

गृहमन्त्री लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। 

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

यसअघि जेठ २० गते श्रेष्ठकै इजलासले गृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियाे भने अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षलाई छलफलमा बाेलाएकाे थियाे।

अधिवक्ता भट्टराईले उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गर्दै रिट दर्ता गरेका थिए।

प्रकाशित मिति: : 2024-06-10 11:22:00

प्रतिकृया दिनुहोस्