सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएकाे छ।
एमाले र माओवादी सरकारमा जाने भएपछि उनीहरुलाई तीन-तीन मन्त्रालय दिने तयारी गरिएको छ।
सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ।
संविधानमा रहेको प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद रहेका छन्।
वैशाख ६ गते मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन्।
केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए। तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिएपछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हुन तयार भएकाे हाे।
स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबण्डा पुर्याउने तयारी गरेका छन्।
अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद् रहेको छ। जसमा दुई जना नाउपाको रन्जिता पक्षका छन्। अहिले कैलाश चौधरी भौतिक पूर्वाधारमन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका छन्।