आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताए।
सांसद साहले कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग मागसमेत गरे।
उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौँ महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि प्रहरीले बिनाकारण प्रहार गरेको बताए।
‘हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ। झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन्। टाउको फुटेको छ, उनीहरु वीर अस्पतालमा भर्ना भएका छन्', उनले भने, 'यसरी संवैधानिक हक देशको राजधानीमा उल्लङ्घन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु। शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस्। सम्मानित अदालतको आदेशविपरीत काठमाडौँ महानगरपालिकाले डोजर आतङ्क गरेको छ।'