सिरहाको एक होटलमा युवकको शंकास्पद मृत्यु भएको छ।
धनगढीमाई नगरपालिका-१० स्थित धनगढीमाई होटल एण्ड लजमा मंगलबार करिब ३२ वर्षीय प्रमोद कुमार कामती शंकास्पद मृत्यु भएको हाे।
होटल सञ्चालक धर्मा महतोका अनुसार बिहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेका थिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्चालक महतोले जानकारी दिए।
धनगढीमाई-३ का मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहानमात्र घर आइपुगेको परिवारले जनाएकाे छ।
मृतकका बुवा रामनारायण कामतीले विदेशबाट आउने बितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्।
उनको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग होटल प्रवेश गरेकी अपरिचित महिला फरार रहेको प्रहरीले बताएकाे छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।