वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ।
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्थाबारे जानकारी दिएका हुन्।
नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गतेदेखि अनलाइनमार्फत् प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एवम् चुस्त हुने भएको छ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो।
खाडी मुलुक एवम् मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदूतावासहरुले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत् गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउने सरकारको नीतिअन्तर्गत यो व्यवस्था लागू गरिएको हो। अनिवार्यरूपमा लागू गर्नअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ।’
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश/उद्दार, मृतको शव झिकाउने, राहत/क्षतिपूर्ति, गुनासो सम्बोधनलगायतका अनलाइन सेवालाई सबै नियोगहरुले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए।