नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारी(चन्द्र भण्डारी)ले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको दुखेसो व्यक्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ३४ वर्षको उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार जनताको नजिक रहन आवश्यक रहेको बताए।
उनले भने, ‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो। यो व्यवस्था हाम्रो उपहार हो। तर यसै व्यवस्थामा ठूलाबढाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ। सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभुति भएको छ।’
सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भएको र क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भन्दै व्यङ्ग्य गरे।
समाजमा केही हुँदैन र केही भएन भन्ने अविश्वास पैदा भएको भन्दै उनले सरकारले त्यसलाई आशामा परिणत गर्नुपर्ने बताए।
उनले भने, ‘नेपालमा नयाँ सरकार बनेको छ। नयाँ प्रधानमन्त्री,मन्त्रीमण्डल बनेको छ। हामी विश्वमा सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिला छौँ। क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो छौँ। त्यतिमात्रै होइन, नेपालमा जन्मिने बच्चाहरु २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन्। यो उपहार विगतबाट प्राप्त गरेका छौँ। चुनौतीलाई सरकारले सामना गर्नुपर्ने छ। यसका निम्ति हाम्रो समाज कस्तो छ ? हाम्रो समाजमा आशा हराएको छ। विश्वास टुटेको छ। त्यतिमात्रै होइन, केही हुँदैन र केही भएन भन्ने न्यारेटिभ छ। यसलाई पनि यो उपहारलाई सरकारले पूरा गर्नुपर्नेछ, यो चुनौतीको पनि सामना गर्नुपर्ने छ।’