सहकारीका बचतकर्ताहरुले लापरबाही र लोभमा परेर पुँजी जोखिममा राखे: सभापति थापा

संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानुन कार्यान्वयनमा कमी भएको टिप्पणी गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चात उनले सहकारी समस्याको मुख्य कारण संयन्त्र निर्माण गर्ने गरी कानुन निमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनि भएको बताए।

उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानुन कार्यान्वयनमा कमी भएको छ। कानुन आवश्यकताअनुसारको संयन्त्र निर्माण गर्ने गरी बनेका छैनन्। र बचतकर्ताहरुले पनि कुन सहकारी को सञ्चालक भन्ने कुरा नबुझी पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ।’

उनले बैठकमा उपस्थित प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्ने बताए।

उनले भने, ‘आज आउनुभएको प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारी भूमिका महत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्छ। सहकारीलाई उत्पादनमा सेवा प्रवाहमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ।’

आजको बैठकमा देशभरबाट सुशासनमा चलेका सहकारीका प्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो। तर त्यसमध्ये ३४ जनाको उपस्थिति रहेको थियो।

यस्तै, सबैको सुझावहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरी गलत प्रचार गर्ने काम भएको पनि उनको भनाई छ।

उनले भने, ‘सबैले आफ्नो कुरा राखेका छन्। सबैको सुझावहरु सुन्दा देशभर केही सहकारी मात्र बिग्रिएका छन् र धेरै सहकारीहरु राम्रो तरिकाले चलेका छन्। अर्बौं बचत तथा ऋण परिचालन गरेका हैसियतका सहकारीहरुको कुराहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार भएको छ भन्ने कुराको अनुभूति हुनेगरी छलफल भएको छ।’ 

प्रकाशित मिति: : 2024-07-30 18:54:00

प्रतिकृया दिनुहोस्