नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपानिकट विद्यार्थी संगठन अखिल (समाजवादी)का सचिव कपिल सीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशाेर श्रेष्ठले प्रहरीलाई प्रलाेभनमा पारेर आफूलाई पक्राउ गरेकाे आराेप लगाएका छन्।
हिरासतबाट रिहा भएलगत्तै कपिलले प्रेस विज्ञप्ति जारी गर्दै किशाेरले सञ्चार माध्यमबाट अपवाह फैलाएर र काठमाडाैँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरियालाई प्रभावमा पारेर आफूलाई थुनेकाे आराेप लगाएका हुन्।
‘उनले आमा चकारी गाली गर्न सुरु गरे। म पूरै संयमित बस्दा पनि किशोर श्रेष्ठले आमा चकारी गाली गर्न नछाडेपछि मैले पनि त्यसको उचित प्रतिक्रिया दिएर फोन राखेको थिएँ’, विज्ञप्तिमा उल्लेख छ।
उनले अगाडि लेखका छन, ‘त्यही फोन संवाद रेकर्ड गरेर आफूखुसी त्यसको सम्पादन गरेर किशोर श्रेष्ठले जनआस्थामार्फत प्रकाशित गरे, जिल्ला परिसर काठमाडौंका एसएसपी वसन्त रजौरियालाई प्रभावमा पारेर मलाई थुने।’
किशाेरले आफ्नाे आफन्त पर्ने महिलाकाे चरित्रहत्या गरेकाे सूचना पाएपछि फाेन गरेकाे र फाेन सम्वादकाे क्रममा विवाद उत्पन्न भएकाे कपिलले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जनआस्थाको कार्यालय बमले उडाउने धम्की, पेस्तोलसहित विप्लव कार्यकर्ता जनआस्थाको कार्यालयमा प्रवेशजस्ता काल्पनिकी रचेर नेकपाकाे जनसमर्थन घटाउने दुस्साहस गर्दा किशोर श्रेष्ठ आफैँ नांगेझार हुनु परेकाे कपिलकाे ठहर छ। ‘‘किशोर श्रेष्ठ खराब मान्छे हो, यसको कार्यालय बमले उडाउनैपर्छ’ भन्ने अत्याधिक प्रतिक्रियापछि उनले आफ्नो फेसबुक स्टाटस हटाए, समाचार लुकाए। फोन रेकर्डमा आफूले बोलेको सबै हटाई ट्या र टुवाला ध्वनी राखेर गरिएको सम्पादन पनि कागको चातुर्यताभन्दा बढी केही हुन सकेन’, उनले विज्ञप्तिमा लेखेका छन्।
कपिलले याे पक्राउबाट ठुलाे पाठ सिकेकाे भन्दै किशाेर श्रेष्ठलाई धन्यवादसमेत दिएका छन्। ‘किशोर श्रेष्ठ र वसन्त रजौरियालाई मैले धन्यवाद पनि भन्नैपर्छ। उनीहरुकै कारण मैले थप पाठ सिकेँ। रंगअवीर गर्न पाएँ। हजारौँ बधाई र शुभकामना बटुलेँ। सानोतिनो विजय उत्सव मनाएँ। भनौँ, मैले जितेँ’, उनले भनेका छन्।
किशाेरलाई धम्क्याएकाे आराेपमा कपिललाई साउन ८ गते प्रहरीले काठमाडाैँ प्रहरी परिसरले पक्राउ गरेकाे थियाे। यद्यपि, किशाेरकाे उजुरी नै खारेज गर्दै अदालतले कपिललाई छाेड्न आदेश दिएकाे छ।
यस्ताे छ, विज्ञप्ति:
म पक्राउ पर्नुको कारणबारे!
आफ्ना कर्मचारीलाई दबाएर राख्न भावनात्मक अत्याचारको लागि जनआस्थाका पत्रकार किशोर श्रेष्ठले मेरो आफन्त पर्ने निर्दोष महिलाको चरित्रहत्या गरिरहेको बारे पत्रकार विश्वमणी सुवेदीमार्फत यही साउन ७ गते हामीले खबर पाएका थियौँ। कानुनी प्रक्रियामा जानको लागि वास्तविकता बुझ्न आफन्तको तर्फबाट फोन गर्दा किशोर श्रेष्ठले मलाई हकारेर फोन राखिदिए। मैले फेरि फोन गरेर आफू अखिल (समाजवादी) को सचिव पनि भएकोले जिम्मेवार भएर कुरा गर्न भनेँ। त्यसपछि हाम्रो पार्टीका नेता र पत्रकारहरुलाई फोन गरेर किशोर श्रेष्ठले मेरो आफन्तको चरित्रहत्या गर्ने अपराधलाई झन् बढाएपछि मैले उनलाई अझ फेरि फोन गरेर छलफलको लागि कार्यालय बोलाएँ। अनि त के ? किशोर श्रेष्ठ पूरै गिरेर भन्न थाले : “फलानीलाई म मेरो कार्यालयबाट न्याय दिँदै छु, चाहिन्छ भने जस्तोसुकै लाइसेन्स् पनि दिनसक्छु।”
यो हर्कतबाट हैरान भएर मैले उनको मानसिक स्थितिमाथि प्रश्न गरेपछि उनले आमा चकारी गाली गर्न सुरु गरे। म पूरै संयमित बस्दा पनि किशोर श्रेष्ठले आमा चकारी गाली गर्न नछाडेपछि मैले पनि त्यसको उचित प्रतिक्रिया दिएर फोन राखेको थिएँ।
त्यही फोन संबाद रेकर्ड गरेर आफूखुसी त्यसको सम्पादन (edit) गरेर किशोर श्रेष्ठले जनआस्थामार्फत प्रकाशित गरे, जिल्ला परिसर काठमाडौंका SSP वसन्त रजौरियालाई प्रभावमा पारेर मलाई थुने।
जनआस्थाको कार्यालय बमले उडाउने धम्की, पेस्तोलसहित विप्लव कार्यकर्ता जनआस्थाको कार्यालयमा प्रवेश जस्ता काल्पनिकी रचेर हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको जनसमर्थन घटाउने दुस्साहस गर्दा किशोर श्रेष्ठ आफैँ नांगेझार हुनुपर्यो। “किशोर श्रेष्ठ खराब मान्छे हो, यसको कार्यालय बमले उडाउनैपर्छ” भन्ने अत्याधिक प्रतिक्रियापछि उनले आफ्नो फेसबुक स्टाटस हटाए, समाचार लुकाए। फोन रेकर्डमा आफूले बोलेको सबै हटाई ट्या र टुवाला ध्वनी राखेर गरिएको सम्पादन पनि कागको चातुर्यताभन्दा बढी केही हुन सकेन।
अनि किशोर श्रेष्ठले फोन संबाद आफूखुसी सम्पादन गरेको प्रष्ट हुँदा पनि त्यसको असली रेकर्ड सुन्ने र किशोर श्रेष्ठलाई फोन गर्नुपर्ने कारणबारे एक मिनेट पनि सोचविचार गर्ने चेष्टा नगरी किशोर श्रेष्ठको एउटा SMS को भरमा विना पक्राउ पुर्जी मलाई जसरी पक्राउ गरियो, त्यसले प्रहरी प्रशासनप्रतिको जनविश्वास जरुर घटाउछ। अतः यस्ता कार्य गर्ने SSP वसन्त रजौरियालाई आफ्नो कर्तव्यप्रति इमानदार रहन माग गर्दछु।
अन्त्यमा, किशोर श्रेष्ठ र वसन्त रजौरियालाई मैले धन्यवाद पनि भन्नैपर्छ। उनीहरुकै कारण मैले थप पाठ सिकेँ। रंगअवीर गर्न पाएँ। हजारौँ बधाई र शुभकामना बटुलेँ। सानोतिनो विजय उत्सव मनाएँ। भनौँ, मैले जितेँ। यद्यपि, यो जित म एक्लैले सम्भव भएको होइन। यो जितको लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, अखिल (समाजवादी), न्यायप्रमी मान्छेहरु, सर्वोच्च अदालत र अदालतमा मेरो रिहाइको लागि बहस गर्नुहुने अधिवक्ताहरुको मुख्य भूमिका छ। म उहाँहरुप्रति कृतज्ञ छु।
-कपिल सी, सचिव, अखिल (समाजवादी)