सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बुधबार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम सुरु भएको मितिदेखि ३० दिन हुनेछ।’
बुधबार दिउँसो काठमाडौँबाट चिनियाँ पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएकाे थियाे।दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित ५ जनाकाे मृत्यु भएकाे थियाे।