ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएका थिए: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताएका छन्।

उनले प्रतिनिधिसभाको बैठकमा अध्यक्ष नेपालले माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए।

उनले भने, ‘राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ, लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो। त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र? तर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने थियो।’

साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए। उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन। मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो, त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन्।’

प्रकाशित मिति: : 2024-08-14 17:07:00

प्रतिकृया दिनुहोस्