निराशालाई आशामा बदल्न कांग्रेस र एमालेकाे समीकरण बन्याे: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेकाे समीकरण बनेकाे बताएका छन्।

साेमबार काठमाडौंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चाैपाताे नेपालद्वारा आयाेजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गाेष्ठीमा गृहमन्त्री लेखकले यस्ताे बताएका छन्।

मुलुकमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रकाे राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए।

‘समीकरण बन्ने र भत्किने क्रम चल्याे। सरकारकाे अस्थिरताकाे सबै क्षेत्रमा प्रभाव देखा पर्याे। मुलुककाे आर्थिक विकास र सुशासनकाे क्षेत्रमा विधिकाे शासनलाई अगाडि बढाउन समस्या देखियो। राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो।  त्याे निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयाे,’ उनले भने।

शिथिल भएकाे अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित राेजगारी सिर्जना गर्न वर्तमान सरकार बनेकाे उनले बताए।

उनले राजनीति स्थिरता र आर्थिक समृद्धिमा अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश लिएर याे सरकार गठन भएकाे बताए।

‘सामान्यतया संसदमा रहेको ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वभाविक देखिँदैन। कतिपय अवस्थामा स्वभाविक मानिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘तर, मुलुकमा महत्त्वपूर्ण एजेन्डा अगाडि आउँछन्। त्यसकाे कार्यसम्पादन गर्नुपर्ने हुन्छ। राष्ट्रका साझा कार्यभार सम्बाेधन गर्नुपर्ने हुन्छ। त्यस्ताे बेलामा याे देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएकाे हाम्रो विगतकाे अनुभव छ।’

संविधान संशोधनकाे विषयलाई एजेन्डा बनाएकाे भन्दै संविधानकाे संशोधन संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए।

सरकार बनेकाे एक महिनामा १८ वर्षसम्म रुमलिएकाे संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेकाे भन्दै चाँडै संक्रमणकालीन न्यायकाे विषयलाई सम्बाेधन गरिने गृहमन्त्री लेखकले बताए।

सुदूरपश्चिमलाई भारत र चीनसँग जाेड्न ३-४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने गृहमन्त्री लेखकले बताए।

महाकाली करिडोर, सेती लाेकमार्ग  लगायतका महत्त्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्र भारतसँग चीनसँग पनि जाेड्ने उनको भनाइ थियाे।

‘यसका लागि ३-४ महिनामा तिंकर नाकामा अध्यागमनकाे कार्यालय स्थापना गरि तेस्राे मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटाे अगाडि बढाउने याेजना अगाडि सारेकाे छु। सुदूरपश्चिमबाट भारत र चीनलाई जाेड्ने काम गर्ने छाैँ। यसले सुदूरपश्चिमकाे विकासमा टेवा पुग्ने छ,’ उनले भने।

प्रकाशित मिति: : 2024-08-19 15:22:00

प्रतिकृया दिनुहोस्