नेकपा माओवादी केन्द्रनिकटको अखिल (क्रान्तिकारी)ले भ्रष्टाचार मुद्दामा हदम्यादको कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ।
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले साेमबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उदेश्यले ल्याउन लागेको हदम्यादको विषय आफूहरुलाई मान्य नहुने बताएकी हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले भ्रष्टाचारीलाई जोगाउने र संरक्षण गर्ने उदेश्यले हदम्यादको विषय उठाएको अखिल (क्रान्तिकारी)को आरोप छ।
‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरु छानबिनको दायरामा आउनैपर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको अध्यक्ष सिंहले बताएकी छन्।
भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट संकेत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ।
भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गरेका निकटस्थहरुलाई कानुनी रुपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेद प्रकट गरेको छ।
‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसंघीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्राबधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलवाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन र शुसासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौं’ऽ सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बहुमतको बलमा भ्रष्टचारी चोख्याउने कानुन र आधार बनाउन खोज्याे भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयार रहेको उनले जनाएकी छन्।
संसदीय मूल्य मान्यता मिच्दै बनेको संसदका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धनले ‘अघिल्लो सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमको श्रृंखलामा ब्रेक लागाउँदै भ्रष्टचारीहरुको संरक्षणमा उत्रिएको’ आभास जनतालाई भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ।