आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन्।
काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार)देखि सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए।
‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन्। निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका थिए। अहिले त्यही दुई दल भ्रष्टाचारीलाई जोगाउँनका लागि गठबन्धन गरेका छन्’, आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो। भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन्।’
निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ। ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ। तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरित काम गरेपछि के जनतासंग लिएको मत फिर्ता गर्नुपर्दैन?’ साहले प्रश्न गरे।
यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाइडबडी, यतीओम्नी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखि टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरु के दालभात मात्रै खाएका हुन त? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्रीज्यू? अनि तपाईंहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुँडिखेलका तीसोझा युवाहरु असभ्य भए, संस्कार भएन भन्ने। अनि के तपाईहरुले जुन देश लुटिराख्नुभएको छ त्यो सभ्य र संस्कारको काम हो ?’
कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन्। आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुँदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासंग माफी माग्नुपर्ने बताए। आफैले उत्कृष्ठ संविधान बनाएको भन्दै गर्भ गर्ने नेताहरुले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए।
मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए। ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिईरहेको छ। हरेक बस्तुको महंगी बढदै गईरहेको छ। घर चलाउँन धौधौ भइरहेको छ। जनता लुटने यि नेताले अहिले लुटतन्त्र मचाएका छन्। यसरी मुलुक समृद्ध हुनसक्दैन्’ साहले भने, ‘नेपाली नागरिकत्ता त्यागेर विदेश बसेकाको सम्पती कहाँ छ? कति छ सरकारले भन्नु पर्यो। लुटेरा नेताहरुले देश चलाएपछि भ्रष्टाचार बढेको हो। अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारवाही गर्ने समय आएको छ। त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिती, भ्रष्टाचारको बिरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका छौँ।’
दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा गम्भिर छलफल हुँदैछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष साहले त्यसबारेमा अगामी कार्ययोजना समेत बैठकमा पेश गर्दैछन्।
आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए। बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडि बढने बताए। बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए।
बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ। आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ। साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडि बढाउने बारेमा समेत छलफल र योजनाको बनाउने काम हुनेछ।